को बन्ला रास्वपा सभापति ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने भएको छ । २०७९ असार ७ गते स्थापना भएको पार्टीले चार वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो । महाधिवेशन नजिकिँदै जाँदा पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।
स्थापनाकालदेखि सभापतिको जिम्मेवारी सम्हाल्दै आएका रवि लामिछाने पुनः नेतृत्वमा दोहोरिने कि २०८२ पुस १३ गते सातबुँदे सहमतिसहित पार्टी प्रवेश गरेका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा आउने भन्ने विषय चर्चामा छ ।
सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले तथा तत्कालीन उपसभापति एवं हालका सभामुख डीपी अर्यालसहितको सहमतिमार्फत पार्टीमा प्रवेश गरेका शाहलाई नेतृत्वमा ल्याउनुपर्ने माग पार्टीभित्र उठिरहेको छ । अर्कोतर्फ, छोटो समयमै लामिछानेको नेतृत्वमा पार्टी देशकै पहिलो शक्ति बनेको भन्दै उनलाई पुनः सभापति बनाउनुपर्ने धारणा राख्ने नेताहरू पनि छन् ।
पार्टी नेताहरू, सभापति लामिछाने र वरिष्ठ नेता शाहनिकट स्रोतका अनुसार अहिलेको अवस्थामा लामिछाने पुनः सभापतिमा निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । वरिष्ठ नेता शाहले भने हालसम्म सभापतिमा दाबी प्रस्तुत गरेका छैनन् । यद्यपि उनले परिस्थितिलाई नजिकबाट नियालिरहेको हुनसक्ने शाहनिकट एक नेताले बताए ।
पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको दाबी पनि गरिएको छ । केही नेताहरूका अनुसार सर्वसम्मतिबाट नेतृत्व चयन भएमा लामिछाने नै सभापति बन्ने लगभग निश्चित छ । लामिछाने पक्षका नेताहरूले यस्तो दाबी गरिरहँदा शाह पक्ष भने सार्वजनिक रूपमा मौन देखिएको छ । उनीहरू महाधिवेशनसम्म अझै समय बाँकी रहेकाले अन्तिम निर्णय त्यही बेला हुने बताउँछन् ।
पार्टीका शीर्ष नेताहरूले भने महाधिवेशनपछि बन्ने केन्द्रीय कमिटी र सचिवालयमा पार्टीसँग जोडिएका सबै समूहको प्रतिनिधित्व सुनिश्चित गरिने बताएका छन् । वालेन्द्र शाह निकट समूह, विवेकशील साझा पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टी, जेन-जी अभियन्ता तथा नागरिक उन्मुक्ति पार्टीबाट आएका नेताहरूलाई समेत समेटेर नयाँ नेतृत्व संरचना बनाइने दाबी गरिएको छ ।
महामन्त्री भूपदेव शाहको नेतृत्वमा समायोजन समिति गठन गरिएको छ । सहमहामन्त्री विपिन आचार्यका अनुसार पार्टीमा आबद्ध सबै समूहको भावना, इतिहास, योगदान र वर्तमान अवस्थालाई समेट्ने गरी समायोजनको काम भइरहेको छ ।
महामन्त्री शाहले पनि महाधिवेशनमा सबै पक्षको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्ने गरी तयारी भइरहेको बताएका छन् । महाधिवेशनका लागि गठन गरिएका विभिन्न समितिहरूले आफ्नो कार्यमोडालिटी तयार पारेर पार्टी सचिवालयमा बुझाउने काम गरिरहेको जनाइएको छ ।
