कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने
काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोधलाई थप कडा बनाउँदै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर कांग्रेसले निरन्तर विरोध गरिरहेको बेला अब समितिस्तरका गतिविधिमा पनि सहभागी नहुने रणनीति अपनाएको हो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्तिप्रति माफी नमागेसम्म पार्टीले संसदीय समितिका कुनै पनि बैठकमा सहभागिता जनाउने छैन। उनले यही जेठ २५ गतेसम्म समितिका बैठक बहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिए।
गत आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले कडा आपत्ति जनाउँदै आएको छ। कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र नेपालको स्थापित कूटनीतिक अडानविपरीत रहेको दाबी गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेको छ।
यस विषयलाई लिएर कांग्रेसले लगातार संसद् अवरोध गरिरहेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलहरूको नाराबाजी र अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिको विषय मात्र नभई हालै प्रतिनिधिसभाबाट पारित नियमावली संशोधनप्रति पनि असन्तुष्टि जनाएको छ। सांसदलाई कानुनभन्दा माथि राख्ने गरी नियमावली जबर्जस्ती पारित गरिएको आरोप लगाउँदै कांग्रेसले त्यसको पनि विरोध गरिरहेको छ।
कांग्रेसको समितिहरू बहिष्कार गर्ने निर्णयसँगै संसद् र संसदीय गतिविधिमा थप राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ। अब जेठ २५ गते बस्ने प्रतिनिधिसभा बैठकअघि सरकार र प्रमुख प्रतिपक्षबीच सहमति जुट्छ वा विवाद अझ गहिरिन्छ भन्ने चासो बढेको छ।
