`

एमाले नयाँ ढंगले उठ्ने विष्णु पौडेलको दाबी

Nepal One HD २० जेठ २०८३ १२:२३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढाइने बताएका छन्।

उनले पार्टीलाई थप सुदृढ बनाउने दृढता आवश्यक रहेको भन्दै सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

पार्टीको दुई दिने कार्यशाला गोष्ठीलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले एमालेले पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै त्यसलाई स्थायी पराजय नभई अस्थायी असफलताका रूपमा लिएको बताए।

उनले पार्टीले निर्वाचन परिणामको गम्भीर समीक्षा गरिरहेको उल्लेख गरे। ‘हामीले नयाँ ढंगले पार्टीलाई उठाउँछौँ। त्यो दृढता बोकेर अगाडि बढ्नुपर्छ। यसका लागि यस्ता कार्यशालाहरू उपयोगी हुन्छन्,’ उनले भने।

पौडेलका अनुसार निर्वाचनपछि पार्टी सचिवालय बैठक बसेर पराजयका कारणहरूको विस्तृत समीक्षा गरिएको छ।

बैठकले निर्वाचनमा पार्टीले किन अपेक्षित सफलता हासिल गर्न सकेन, त्यसका आन्तरिक र बाह्य कारणहरू के थिए भन्ने विषयमा गहन छलफल गरेको उनले बताए।

उनले सचिवालय बैठकले पार्टी अहिलेको अवस्थामै अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै पुनर्गठनको प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिए। त्यसका लागि निर्वाचनको समीक्षा गर्ने तथा संगठनात्मक पुनर्गठनका प्रस्ताव तयार पार्ने जिम्मेवारीसहित कार्यदलसमेत गठन गरिएको उनले बताए।

पौडेलले पार्टीलाई समयानुकूल ढंगले रूपान्तरण गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनतामाझ प्रस्तुत गर्ने लक्ष्य रहेको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *