`

चुनाव पूर्वनिर्धारित नतिजाका लागि गराइएको थियो : ओली

Nepal One HD २० जेठ २०८३ १३:०६
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचन निष्पक्ष नभई पूर्वनिर्धारित परिणाम हासिल गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको दाबी गरेका छन्।

ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ को संज्ञा दिँदै निर्धारित नतिजा निकाल्नका लागि निर्वाचन गराइएको आरोप लगाए।

उनका अनुसार अन्य राजनीतिक दलले वास्तविक प्रतिस्पर्धात्मक निर्वाचन भइरहेको ठाने पनि परिणाम पहिल्यै तय गरिएको थियो।

‘हामीले पहिलोपटक चुनाव लडेका होइनौँ। पटक-पटक निर्वाचन भोगेका छौँ। उम्मेदवारी खारेज भएको उम्मेदवारले समेत दोब्बर मत प्राप्त गर्ने अवस्था देखियो,’ उनले भने।

निर्वाचनमा प्रयोग गरिएको मसी र मतपत्रबारे पनि प्रश्न उठाउँदै उनले ती विषय छानबिनको दायरामा आउनुपर्ने बताए।

ओलीले परिणामप्रति असन्तुष्टि रहे पनि आफूहरूले निर्वाचनको नतिजा स्वीकार गरेको उल्लेख गरे। उनले एमाले राष्ट्रियता र लोकतन्त्रको पक्षमा संघर्षरत रहेको भन्दै पार्टी अन्धविश्वासमा नभई घटनाक्रमलाई गम्भीरतापूर्वक नियालिरहेको बताए।

उनले त्यसपछिको सरकारले गठन गरेको छानबिन आयोगप्रति पनि असहमति जनाए।

आगजनी, तोडफोड र हिंसात्मक घटनापछि बनेको सरकारले पूर्वाग्रही उद्देश्यका साथ आयोग गठन गरेको आरोप लगाउँदै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।

ओलीले आयोगलाई मान्यता नदिने आफ्नो अडान दोहोर्याउँदै आयोगले आफूलाई बयानका लागि प्रश्नावली पठाए पनि त्यसलाई अस्वीकार गरेको बताए। ‘यो आयोग छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्न बनाइएको हो भन्ने हाम्रो निष्कर्ष थियो,’ उनले भने।

उनले आयोगले नयाँ शक्तिहरू वा अन्य निकायमाथि अनुसन्धान नगरी पुराना राजनीतिक दलका नेताहरूलाई मात्र लक्षित गरेको आरोप लगाए। आयोगको उद्देश्य सत्यतथ्य खोज्नु नभई निश्चित व्यक्तिलाई दोषी देखाउने रहेको दाबी गर्दै ओलीले त्यस्ता आयोगलाई आफूहरूले स्वीकार नगर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *