`

नेप्से लाग्यो उकालो

Nepal One HD २० जेठ २०८३ १५:३३
अर्थ समाचार

काठमाडौं । अघिल्लो दिन २२.२१ अंकले बढेको सेयर बजार बुधबार सामान्य वृद्धि गर्दै २.६६ अंकले उकालो लागेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २,७८० अंकमा पुगेको छ । बजार दिनभर सामान्य उतारचढावबीच कारोबार भएको थियो ।

आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकम पनि बढेर अघिल्लो दिनको ५ अर्ब २६ करोडबाट बढ्दै ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

समूहगत रूपमा आज निर्जीवन बीमा समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । यो समूह ३.३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ । बजेटमा तेस्रो पक्ष बीमांक रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याइएपछि बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षाले लगानीकर्ताको आकर्षण बढेको हो ।

जीवन बीमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत र विकास बैंक ०.६६ प्रतिशतले बढेका छन् ।

तर अन्य समूह भने सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ र बैंकिङ ०.१३ प्रतिशतले घटेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । एसबीएल डिबेन्चर (२०८४) १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावर ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले बढेका छन् ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको मूल्य ५.१८ प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत र त्रिशूली जलविद्युत् ३.३९ प्रतिशतले घटेका छन् ।

आज कारोबारका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर शीर्ष स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *