`

कोशीमा कति बढ्यो बेरुजु ?

Nepal One HD २० जेठ २०८३ १८:१३
अर्थ समाचार

विराटनगर । महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ५८ करोड ६६ लाख ८३ हजार बेरुजु देखिएको जनाएको छ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार प्रदेशका १८२ सरकारी कार्यालय, समिति तथा २६ अन्य संस्थासहित कुल २०८ निकायको लेखापरीक्षणका क्रममा सो बेरुजु देखिएको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङ लाई नायब महालेखा परीक्षक श्रीकुमार राईले मंगलबार प्रतिवेदन बुझाएका थिए।

प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने  १४ करोड ६५ लाख १९ हजार, अनियमित भएको  ७ करोड ३२ लाख ६३ हजार, प्रमाण कागजात नपुगेको २७ करोड ४५ लाख ६१ हजार र पेस्की रु ३ करोड ३ लाख ३७ हजार बेरुजु देखिएको छ।

त्यस्तै समिति तथा अन्य संस्थातर्फ असुल गर्नुपर्ने रु ५१ लाख ८५ हजार, अनियमित ४ करोड ६९ लाख ९३ हजार, प्रमाण नपुगेको रु ९० लाख २५ हजार र पेस्की ८ लाख बेरुजु रहेको उल्लेख छ।

प्रतिवेदनले कुल लेखापरीक्षण अङ्कको १.१२ प्रतिशत बेरुजु कायम भएको देखाएको छ। हालसम्म अद्यावधिक बेरुजु भने ५ अर्ब ६३ करोड ५ लाख ३९ हजार पुगेको जनाइएको छ।

त्यस्तै स्थानीय तहतर्फ एक महानगरपालिका, एक उपमहानगरपालिका, ४३ नगरपालिका र ८३ गाउँपालिकासहित १२८ निकायको लेखापरीक्षणबाट पनि ठूलो परिमाणमा बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *