सोधपुछ गर्न चौकी बोलाइएका ‘फेकु दास’ प्रहरीबाटै किन कुटिए ?
काठमाडौं। सर्लाहीको हरकठवा क्षेत्रमा प्रहरी कार्यालयमै बोलाइएका एक स्थानीय कुटिएका छन्।
प्रहरी जवानको कुटाइबाट धनकौल गाउँपालिका-५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका हुन्। उनी हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्।
साइनिङ स्टार बोर्डिङ स्कुलका सञ्चालक संजय साहले फेकु दासका दुई छोराको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रशासनले आवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो।
त्यसपछि बुधवार दिउँसो फेकु दास श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। प्रारम्भिक विवरण अनुसार कार्यालयमै उनीहरूलाई सोधपुछ गर्ने क्रममा पत्रमा हस्ताक्षर गर्न भनिएको थियो। तर दासले विद्यालयको शुल्क पहिले नै तिरेको दाबी गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि विवाद सुरु भएको बताइएको छ।
त्यही विवाद चर्किँदै जाँदा प्रहरी जवान रामजीवन पासवानले दासमाथि बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप लागेको छ। कुटपिटपछि उनी गम्भीर घाइते भएका थिए।
घटनामा दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल बरहथवास्थित हनुमन्त हस्पिटल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको हो।
घटना बाहिरिएपछि स्थानीयस्तरमा प्रश्न उठेका छन् कि प्रहरी कार्यालयभित्रै बोलाइएका नागरिकमाथि कुटपिट कसरी भयो। पीडित पक्षले आफूलाई अन्याय भएको दाबी गरिरहेको छ भने घटनाको निष्पक्ष छानबिनको माग पनि उठेको छ।
इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्रको कोठामा दास र प्रहरी जवानबीच विवाद भएको स्वीकार गरेका छन्। उनका अनुसार सोही विवादकै क्रममा कुटपिटको घटना भएको हो।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार प्रारम्भिक सूचनामा दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको देखिएको छ।
उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
घटनाबारे विस्तृत छानबिन जारी रहेको प्रहरीले जनाएको छ।
