मोटरसाइकल चलाउँदा भिडिओ खिचिरहेका हर्क साम्पाङ लडेपछि…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट आफैँ मोटरसाइकल चलाएर बेलकातर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेको जनाइएको छ।
पार्टीका एक नेताका अनुसार साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइलबाट भिडिओ खिचिरहेका बेला सन्तुलन गुमाएका थिए। त्यसपछि मोटरसाइकल सडकमा लड्दा उनी सामान्य घाइते भएका हुन्।
दुर्घटनापछि उठेर साम्पाङले आफूलाई लागेको चोटसमेत देखाउँदै भिडिओ बनाएका थिए। सार्वजनिक भएको भिडिओमा उनको एउटा हातको छाला ताछिएको देखिन्छ भने उनले लगाएको सुरुवाल पनि च्यातिएको अवस्था देखिएको छ।
घटनापछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै लेखेका छन्, ‘म आफैँ लडेँ, चोट मलाई नै लाग्यो। अलिअलि चोट लाग्नु पनि पर्छ, तर देशलाई चोट दिएको छैन मैले। धेरै नकराउनु।’
यता, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले अध्यक्ष साम्पाङको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै दुर्घटनामा सामान्य चोटपटक मात्र लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर उहाँलाई सामान्य चोटपटक मात्र लागेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उहाँ सधैँझैँ आफ्नो दैनिकीमा सक्रिय हुनुहुन्छ।’
साम्पाङको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको आवश्यकता नपरेको पार्टी स्रोतले जनाएको छ।
