बस दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका छुट्टाछुट्टै बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध क्षेत्रमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। त्यस्तै, संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटाको च्याङच्याङबारीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
दुर्घटनापछि जारी गरिएको विज्ञप्तिमार्फत सभापति थापाले ज्यान गुमाएका यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगत रूपमा गहिरो समवेदना व्यक्त गरेका छन्।
थापाले दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक पहल गर्न समेत अनुरोध गरेका छन्।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा सडक दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै थापाले यस्ता घटनाको कारणबारे गहिरो अध्ययन गर्न तत्काल कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। अध्ययनका आधारमा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।
