नेपालमा टेलिफोन ग्राहक ३ करोड ३१ लाख
काठमाडौं। नेपालमा टेलिफोन सेवाका ग्राहकको संख्या ३ करोड ३१ लाख नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको जेठ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार देशको कुल जनसंख्या भन्दा टेलिफोन सदस्यता बढी देखिएको हो।
जनगणना–२०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। एउटै व्यक्तिले एकभन्दा बढी सिमकार्ड प्रयोग गर्ने प्रवृत्तिका कारण सदस्यता संख्या जनसंख्याभन्दा बढी देखिएको प्राधिकरणले जनाएको छ।
प्रतिवेदनअनुसार भ्वाइस टेलिफोन सेवामा जीएसएम प्रविधिको वर्चस्व कायम छ। नेपाल टेलिकम १ करोड ५७ लाख ३० हजार जीएसएम ग्राहकसहित अग्रस्थानमा रहेको छ भने एनसेलका जीएसएम ग्राहक करिब १ करोड ४१ लाख छन्। नेपाल टेलिकमसँग ३० हजार ५६४ फिक्स्ड पीएसटीएन ग्राहक तथा ३ लाख ८६ हजार १२२ एफटीटीएच भ्वाइस सेवा प्रयोगकर्ता पनि रहेका छन्।
जीएमपीसीएस प्रविधिमा आधारित पोर्टेबल स्याटेलाइट सेवातर्फ कन्स्टेलेसन प्रालिका १ हजार १७३ र १४ टेक्नोलोजीका १६ ग्राहक रहेको प्रतिवेदनमा उल्लेख छ।
भ्वाइस टेलिफोन बजार हिस्साका आधारमा नेपाल टेलिकम ५३.४६ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा रहेको छ भने एनसेलको हिस्सा ४६.५३ प्रतिशत छ। मोबाइल सेवाको पहुँच (पेनिट्रेसन) १०२.५२ प्रतिशत पुगेको छ, जसले अधिकांश प्रयोगकर्ताले एकभन्दा बढी सिम प्रयोग गरिरहेको संकेत गर्छ। फिक्स्ड टेलिफोनको पहुँच भने १.४२ प्रतिशतमा सीमित रहेको छ।
देशभर ब्रडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ११ लाख ३० हजार पुगेको छ। तीमध्ये २ करोड ७६ लाख २० हजार अर्थात् ८८.७३ प्रतिशतले मोबाइल ब्रडब्यान्ड प्रयोग गरिरहेका छन्। फिक्स्ड (तारयुक्त) ब्रडब्यान्ड प्रयोगकर्ताको संख्या ३४ लाख ७० हजार रहेको छ, जुन कुल ब्रडब्यान्ड ग्राहकको ११.१७ प्रतिशत हो। फिक्स्ड वायरलेस ब्रडब्यान्ड प्रयोगकर्ता ३१ हजार ३४९ रहेका छन्।
मोबाइल ब्रडब्यान्ड सेवामा पनि नेपाल टेलिकम ५५.४१ प्रतिशत बजार हिस्सासहित अग्रस्थानमा छ भने एनसेलले ४४.५९ प्रतिशत हिस्सा ओगटेको छ। प्रतिवेदनअनुसार मोबाइल ब्रडब्यान्डको पहुँच कुल जनसंख्याको ९४.७ प्रतिशत पुगेको छ भने फिक्स्ड ब्रडब्यान्डको पहुँच ५२.११ प्रतिशत रहेको छ।
फिक्स्ड ब्रडब्यान्ड बजारमा सरकारबाट अनुमति प्राप्त एक सयभन्दा बढी इन्टरनेट सेवा प्रदायक (आईएसपी) सक्रिय रहे पनि बजारको अधिकांश हिस्सा सीमित कम्पनीहरूको नियन्त्रणमा रहेको देखिएको छ। यस क्षेत्रमा वर्ल्डलिंक ३०.८२ प्रतिशत बजार हिस्सासहित अग्रस्थानमा रहेको छ। त्यसपछि नेपाल टेलिकम १०.९७ प्रतिशत, डिसहोम १०.५८ प्रतिशत, भायानेट १०.५४ प्रतिशत, क्लासिक टेक ८.२६ प्रतिशत र सुबिसु ७.६१ प्रतिशत बजार हिस्सासहित प्रमुख सेवा प्रदायकका रूपमा रहेका छन्।
एनटीएको प्रतिवेदनले नेपालमा मोबाइल तथा इन्टरनेट सेवाको प्रयोग निरन्तर विस्तार भइरहेको देखाएको छ। विशेषगरी मोबाइल ब्रडब्यान्डको उच्च पहुँचले डिजिटल सेवाप्रतिको निर्भरता बढ्दै गएको संकेत गरेको छ।
