`

काजलको आरोप, दीपकको खण्डन, चर्कियो ‘चिरञ्जीवी भवः’ विवाद

Nepal One HD २८ असार २०८३ १४:४३
चलचित्र

काठमाडौं । नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ को छायांकन सेटमा अभिनेत्री काजल कर्णले आफूमाथि विभेदपूर्ण व्यवहार भएको आरोप लगाएपछि सुरु भएको विवाद झन् गहिरिएको छ।

काजलले आफूलाई मधेशी भएकै कारण अपमान, मानसिक दबाब र भूमिकाबाट हटाइएको आरोप लगाएपछि निर्देशक दीपक आचार्यले विस्तृत स्पष्टीकरण सार्वजनिक गर्दै सबै आरोप अस्वीकार गरेका हुन्।

निर्देशक आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ६ बुँदे स्पष्टीकरणमा फिल्म निर्माण टोलीका लागि कुनै जातीय वा क्षेत्रीय समुदाय नभई ‘मानव समुदाय’ मात्रै रहेको उल्लेख गरेका छन्। उनले सम्पूर्ण कलाकारलाई समान सम्मान गरिने र कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने दाबी गरेका छन्।

आचार्यका अनुसार काजलले आरोप लगाएजस्तो छायांकन सेटमा कुनै प्राविधिकबाट तुच्छ व्यवहार भएको जानकारी आफूलाई कहिल्यै नदिइएको बताए। यदि कसैले त्यस्तो व्यवहार गरेको पुष्टि भए तत्काल कारबाही गरिने उनको भनाइ छ।

निर्देशकले छायांकन प्रभावित हुन नदिन निर्माण टोलीले अर्को कलाकारबाट भूमिका सम्पन्न गराएको स्पष्ट पारेका छन्। उनका अनुसार बिहान ७:३० बजेका लागि बोलाइएको छायांकनमा काजल निर्धारित समयमा उपस्थित नभएको र सहायक निर्देशकमार्फत अन्तिम समयमा आफू नआउने जानकारी पठाएपछि सुटिङ रोक्न नसकिने अवस्था आएको थियो।

पारिश्रमिकको विषयमा पनि उनले निर्माण पक्षसँग छलफल गर्दा डबिङ सम्पन्न भएपछि दिने सहमतिअनुसार अन्तिम किस्ता मात्रै बाँकी रहेको जानकारी प्राप्त भएको बताएका छन्।

मधेशी भएकै कारण विभेद गरिएको आरोपबारे निर्देशकले आफूलाई काजल मधेशी समुदायबाट आएको भन्ने कुरा सामाजिक सञ्जालमा उनको स्टाटस पढेपछि मात्र थाहा भएको दाबी गरेका छन्। कलाकार छनोट जातीय वा क्षेत्रीय पहिचानका आधारमा नभई पात्रको आवश्यकता अनुसार गरिएको उनको भनाइ छ।

स्क्रिप्टभन्दा बाहिरका दृश्य गर्न बाध्य पारिएको आरोपबारे पनि उनले असहमति जनाएका छन्। कलाकारले चरित्रअनुसार विभिन्न भूमिका निर्वाह गर्नुपर्ने भन्दै काजललाई केवल गोबर सोहोर्ने दृश्य मात्रै गराइएको भन्ने दाबी सत्य नभएको र उनीद्वारा निर्वाह गरिएका विभिन्न दृश्यका भिडियो फुटेज सुरक्षित रहेको निर्देशकले उल्लेख गरेका छन्।

आचार्यले यो विवाद केही गलत बुझाइका कारण पनि उत्पन्न भएको हुन सक्ने उल्लेख गर्दै आवश्यक परे काजलसँग छलफल गर्न निर्माण टोली तयार रहेको बताएका छन्। साथै, सबै पक्षलाई मिलेर राम्रो नेपाली चलचित्र निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

यता, काजल कर्ण भने आफ्नो आरोपमा अडिग रहेकी छन्। उनले दोस्रो पटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै निर्देशकको स्पष्टीकरणले वास्तविक घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएकी छन्। सेटमा आफूले भोगेको व्यवहार, पारिश्रमिक विवाद र भूमिकाबाट हटाइएको घटनाबारे उठाएका सबै विषय सत्य रहेको उनको दाबी छ।

यस विवादले नेपाली फिल्म उद्योगमा कलाकारको श्रम अधिकार, कार्यस्थलको व्यवहार, पारिश्रमिकको पारदर्शिता तथा जातीय वा क्षेत्रीय पहिचानका आधारमा हुने सम्भावित विभेदबारे नयाँ बहस सुरु गरेको छ।

हालसम्म दुवै पक्षले आफ्ना–आफ्ना दाबी सार्वजनिक गरेका छन् भने आरोप–प्रत्यारोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

यस्तो छ कर्णको दाबी

मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…

सानैदेखि एउटा सपना थियो– ऐनाअगाडि उभिएर अभिनय गर्ने, ठूला पर्दामा देखिने र एउटा कुशल कलाकार बन्ने। मधेशको एउटा सानो आँगनबाट सुरु भएको त्यो रंगीन सपनालाई पछ्याउँदै मैले ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा काम गरेँ। आमा–बुवाको विश्वास र मेरो मेहनतले मलाई नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ सम्म पुर्‍यायो। ‘परान’जस्तो सुपरहिट फिल्मका निर्देशकसँग काम गर्न पाउँदा खुसी नहुने कुरै थिएन।

तर, फिल्मको सेटभित्र छिरेपछि मैले जुन संसार देखेँ, त्यसले मेरो कलाकारिताप्रतिको सम्मान मात्र होइन, मेरो आत्मसम्मान र मधेशी पहिचानमाथि यति क्रूर प्रहार गर्‍यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु।

अहिले लाग्छ, मधेश र नेपाली फिल्म क्षेत्रबीचको दूरी पृथ्वी र चन्द्रमा जस्तै रहेछ– टाढाबाट हेर्दा चम्किलो, तर पुग्न खोज्दा सासै रोकिने शून्यता र विभेद।

फिल्ममा अनुबन्धित हुँदा म धेरै खुसी थिएँ। हरिवंश आचार्य, करिश्मा मानन्धरजस्ता हस्तीहरूसँग काम गर्ने अवसर थियो। तर, सुरुवातमै मलाई अपमानित गर्न थालियो। डिजाइनर दाइले मेरो नाप लिएर पनि काठमाडौँको सुटका लागि आफ्नै लुगा व्यवस्था गर्न भन्नुभयो। सुटिङको दिन बिहानै साढे ५ बजे गाडी पठाउँछु भन्ने प्रोडक्सनका सुवास काफ्लेजीले फोन उठाउनुभएन। अन्त्यमा ६ बजे फोन उठ्दा भन्नुभयो– ‘गाडी आउँदैन, आफैँ पठाओ गरेर आउनुस्, हामी भाडा तिरिदिन्छौँ।’ एउटा कलाकारलाई सेटसम्म पुग्न पनि कति सास्ती!

इटहरीमा सुटिङ भइरहेका बेला म लोकेसनमा पुगेँ। मेकअप रुममा प्रवेश गर्दा मुख्य अभिनेत्री प्रशंसा रायमाझीको मेकअप भइरहेको थियो। त्यहाँ चीफ एडी नेत्र सरले मलाई ‘लुगा खोइ?’ भन्दै थर्काउनुभयो। मैले डिजाइनरको कुरा राख्दा उल्टै ममाथि झर्कनुभयो। त्यतिमै नपुगेर प्रशंसा जीले भन्नुभयो– ‘मैले यो कोठामा मेरो मात्र मेकअप होस् भनेर अनुमति दिएको हो, अरूलाई ल्याएर मेरो रुमको माहोल नबिगारिदिनुस्।’ सेटमा म एउटा कलाकार होइन, कुनै अवाञ्छित वस्तु झैँ भएँ।

सबैभन्दा पीडादायी क्षण त मेकअप गर्दा भयो। मेकअप आर्टिस्टले मेरो अनुहारमा जानीजानी कालो मेकअप दलिदिइन्। मैले सोध्दा उनले भनिन्, ‘तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई–गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ।’

मेरो स्क्रिप्टमा त्यस्तो केही थिएन। अर्का एकजना पुरुष मेकअप आर्टिस्टले त झन् पराकाष्ठा नै नाघेर भने– ‘तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् भन्ने थाहा होला नि!’ यति भन्दै उनीहरू ममाथि हाँसे, मेरो माटोको उपहास गरे। ‘यो मधेशी’ भन्दै सेटभरि मेरो मजाक उडाइयो। ‘तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि’, ‘ओई मधेसेनी, तिम्रोतिर त भैँसी र गाईलाई कसरी बोलाउँछन्, थाहा होला नि? ल, बोलाएर देखाऊ त!’, यस्तै यस्तै भनेर उनीहरू ममाथि खित्का छोडेर हाँसे।

स्क्रिप्टमा कहीँ नभएको कुरा सुटिङमा जबर्जस्ती गराइयो। मलाई र अर्को एकजनालाई फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइयो। दुई दिनसम्म मलाई एउटा कलाकारको रूपमा होइन, मजदुरको रूपमा मात्र प्रयोग गरियो। पेमेन्टको कुरा गर्दा प्रोडक्सनका सुवासले वास्तै गर्नुभएन।

जब सुटिङ इटहरी पुग्यो, मैले आफ्नो बाँकी पेमेन्ट र लुगा खर्च मागेँ। एक्जेक्युटिभ प्रोड्युसर शैलेश खत्रीले मलाई ‘पेमेन्ट हालिसकेँ, सेटमा आउनुस्’ भनेर झूट बोल्नुभयो। म इटहरी पुग्दा त मेरो ठाउँमा अर्कै कलाकारलाई मेकअप गराइँदै थियो। मलाई कुनै जानकारी नै नदिई निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा ठाउँको ठाउँ मलाई फिल्मबाट हटाइयो। कारण सोध्दा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले भनिन्, ‘तिमी नहुने भयौ, तिम्रा लुगाहरू छुटेको भएर मात्र बोलाएको हो।’

मेरो पेमेन्ट क्लियर गर्न आग्रह गर्दा शैलेश जीले ‘अझै डबिङ बाँकी छ, अहिले फुल पेमेन्ट दिन्नँ’ भन्नुभयो। इटहरी बोलाएर, अर्कै कलाकार राखेर, मलाई ‘लुगा लिन मात्र बोलाएको’ भन्नु कति ठूलो अपमान हो?

यो केवल मेरो एउटा भूमिका खोसिएको कथा होइन। यो त नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच र विभेदको नाङ्गो रूप हो। मधेशका छोरीहरूले घरको कुरा र समाजको रुढीवादी सोच जितेर यहाँसम्म आउन कति संघर्ष गर्नुपर्छ, त्यो सेटमा बस्ने ती ‘अहंकारी’हरूले कहिल्यै बुझेनन्। उनीहरूले त केवल मेरो पहिचानमाथि प्रहार गर्न र मलाई मानसिक तनाव दिन मात्र जाने।

म यो पत्रमार्फत प्रश्न गर्न चाहन्छु– के मधेशी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो? ‘चिरञ्जीवी भवः’ को सेटमा मैले पाएको यो दुर्व्यवहारले फिल्म क्षेत्रको कुरूप अनुहार छर्लङ्ग पारेको छ। तर स्मरण रहोस्, एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन। मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेशी छोरीहरूका लागि।

उही,
तपाईंकी
काजल कर्ण

निर्देशक आचार्यको खण्डन

हाम्रो लागि कुनै क्षेत्रीय वा जातीय समुदाय छैन, एउटै समुदाय छ ‘मानव समुदाय’।

सामाजिक सञ्जालमा ‘चिरञ्जीवी भव’को सुटिङ सेटमा आएको एउटा गम्भीर विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। काजोल कर्णजीको स्टाटस पढेपछि मैले आरोपित सम्पूर्ण प्राविधिक अनि टिमसँग छलफल गरेपश्चात् हामी केही कुरा क्लियर गर्दैछौँ।

१- उहाँले मेरो निर्देशनमा रहेको सेटमा केही प्राविधिकहरूबाट अत्यन्तै तुच्छ व्यवहार भयो भन्ने आरोपमा कुनै सत्यता छैन, र मलाई उहाँले कुनै जानकारी गराउनु भएको छैन। यदि कुनै सदस्यबाट उहाँले आरोप लगाएजस्तो व्यवहार गरेको पुष्टि भएमा गल्ती गर्ने जो कोहीलाई पनि १ सेकेन्ड अबिलम्ब नगरी कारबाही गरिनेछ।

२- कलिङ टाइम ७:३० को राखिएको सुटिङ सेटमा ९:०० बजेसम्म कलाकारलाई कुरेर बसेका ७० जना सुटिङ युनिटलाई अन्तमा सहायक निर्देशकमार्फत म आउँदिन भन्ने सन्देश पठाउनु भएछ। मैले टिम क्याप्टेनको हिसाबले एउटा कलाकारले अनुशासन भंग गरी यति ठूलो युनिट होल्ड हुन नदिई सुटिङ सुचारु गरेको हुँ र कलाकारको पारिश्रमिक सम्बन्धमा निर्माण टिमसँग छलफल गर्दा तेस्रो किस्ता मात्र दिन बाँकी, जुन डबिङपछि दिइने जानकारी पाएको छु।

३- सम्बन्धित कलाकार कुनै समुदाय विशेषको भएको कारण हामीले छनोट गरेका होइनौँ, जुन कुरा पछि चलचित्र प्रदर्शनपश्चात् झन् सबैले बुझ्नु हुनेछ। उहाँ मधेसी मूलको हुनुहुँदो रहेछ भन्ने कुरा मैले त उहाँको स्टाटस पढेपछि मात्र थाहा भयो। हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय कलाकार हुँदैनन्, हरेक चरित्र हाम्रो लागि समान हुन् र हामी बराबर सम्मान गर्छौँ।

४- कलाकार भएपछि जस्तोसुकै भूमिका निर्वाह गर्नुपर्छ, जसमा कहिले डोको बोक्न पर्ला, कहिले गाईको सेवा गर्न पर्ला। हरेक पेसाप्रति हाम्रो उच्च सम्मान छ। अझ चरित्रमा प्राण भर्न कलाकारले जीवन्त अभिनय गर्नु एउटा कलाकारको कर्तव्य हो।

५- काजोलजीले अत्यन्तै सुन्दर भूमिका निर्वाह गर्नुभएको छ। उहाँले आरोप लगाउनु भएजस्तो गाईको गोबर सोहोर्ने काम मात्र दिइयो भन्ने कुरा सत्य होइन। हामीसँग उहाँले गर्नुभएका हरेक भूमिकाका भिडियो फुटेज सुरक्षित छन्।

६- उहाँलाई कतिपय कुराहरू मिसअन्डरस्टान्डिङ भएको हुन सक्छ। यदि त्यस्तो भए हामी उहाँसँग छलफल गर्ने वातावरण तयार गर्नेछौँ।

हाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ, मानव समुदाय। हरेक मानवलाई हामी समान व्यवहार गर्छौँ। हामी अत्यन्तै मेहनत गरेर नेपाली चलचित्र उद्योगको लागि एउटा सुन्दर सिर्जना निर्माणमा व्यस्त छौँ। आउनुहोस्, हामी सबै मिलेर एउटा राम्रो सिनेमा निर्माणमा सहयोग गरौँ। काजोलजीको कलाकारिताको लागि सफलताको शुभकामना।

चिरञ्जीवी भव।

यो पनि पढ्नुहोस्: 

मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *