`

एआई ‘प्रेमी’सँग बढ्दो सम्बन्ध, चीन डरायो

Nepal One HD ३१ असार २०८३ १६:४०
विज्ञान-प्रविधि

काठमाडौं। चीन सरकारले कृत्रिम बौद्धिकता (एआई)मा आधारित भर्चुअल प्रेमी-प्रेमिका सेवामा कडा नियमन लागू गर्ने निर्णय गरेको छ।

सरकारले एआईसँग बढ्दो भावनात्मक निर्भरता वास्तविक मानवीय सम्बन्धका लागि चुनौती बन्न सक्ने निष्कर्ष निकाल्दै नयाँ कानुनी व्यवस्था लागू गर्न लागेको हो।

आगामी सातादेखि लागू हुने नियमअनुसार प्रयोगकर्ताले एआईसँग गहिरो भावनात्मक सम्बन्ध विकास गर्न सक्ने सुविधा सीमित गरिनेछ। साथै, एआई वास्तविक मानिस नभएको जानकारी प्रयोगकर्तालाई निरन्तर गराइने व्यवस्था गरिएको छ।

नयाँ नियमको प्रभाव सबैभन्दा बढी बाइटडान्स, अलिबाबा र टेन्सेन्टजस्ता ठूला प्रविधि कम्पनीका एआई सेवामा पर्नेछ। ती कम्पनीहरूले प्रयोगकर्ताको रुचिअनुसार भर्चुअल प्रेमी–प्रेमिका सिर्जना गर्ने तथा भावनात्मक सम्बन्धलाई प्रोत्साहन गर्ने फिचर हटाउन थालेका छन्।

चीन सरकारले पछिल्लो समय युवामा बढ्दो एक्लोपन, विवाहदरमा आएको गिरावट र जन्मदर घट्दै गएको अवस्थालाई समेत ध्यानमा राखेर यस्तो कदम चालेको जनाएको छ। सरकारको बुझाइमा वास्तविक सम्बन्धको सट्टा एआईसँगको अत्यधिक निकटताले सामाजिक संरचनामा दीर्घकालीन असर पार्न सक्छ।

विश्लेषकहरूका अनुसार विशेषगरी आर्थिक दबाब, रोजगारीको अनिश्चितता र सामाजिक अपेक्षाका कारण धेरै मानिस, विशेषगरी महिलाहरू, सधैं उपलब्ध रहने र भावनात्मक रूपमा प्रतिक्रिया दिने एआई साथीप्रति आकर्षित भएका छन्। यसले आधुनिक समाजमा सम्बन्धको स्वरूप बदलिँदै गएको संकेत पनि दिएको छ।

यद्यपि, प्रविधि विज्ञहरू भने एआई सेवामा नियमन आवश्यक भए पनि केवल भर्चुअल प्रेमी-प्रेमिका सेवामा कडाइ गरेर विवाहदर घट्ने, जन्मदर कम हुने वा सामाजिक एक्लोपनका समस्या समाधान नहुने धारणा राख्छन्।

उनीहरूका अनुसार यस्ता समस्याको समाधानका लागि व्यापक सामाजिक र आर्थिक सुधार आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *