`

अमेरिकी हवाई आक्रमणमा ५० भन्दा बढी इरानी सैनिकको मृत्यु

Nepal One HD ३ साउन २०८३ १२:१६
विश्व

काठमाडौंजोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानको अर्धसैनिक बल रिभोलुसनरी गार्डका सैन्य संरचनालाई लक्षित गर्दै व्यापक हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका-इरान द्वन्द्व थप चर्किएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार आइतबार गरिएको आक्रमणमा इरानको तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र, समुद्री सैन्य क्षमता तथा क्षेप्यास्त्र र ड्रोन भण्डारणस्थललाई निशाना बनाइएको थियो। अमेरिकी पक्षले पहिलो पटक रिभोलुसनरी गार्डका संरचनामाथि प्रत्यक्ष सैन्य कारबाही गरिएको जनाएको छ।

अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा लडाकु विमान र समुद्रबाट प्रहार गरिएका टोमाहक क्रुज मिसाइल प्रयोग गरिएको देखिन्छ। आक्रमणको एक प्रमुख लक्ष्य पहाडी क्षेत्रमा रहेको सैन्य आधार रहेको बताइएको छ। इरानले आफ्ना क्षेप्यास्त्र तथा सैन्य सामग्री प्रायः पहाडी सुरुङ र सुरक्षित आधारहरूमा राख्ने गरेको अमेरिकी दाबी छ।

अमेरिकी सेनाका अनुसार जोर्डनस्थित सैन्य अड्डामाथि इरानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको, एक जना बेपत्ता भएका तथा चार जना घाइते भएका छन्। अमेरिकी पक्षका अनुसार युद्ध सुरु भएयता १६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ४३० भन्दा बढी घाइते भएका छन्।

यता, इरानी अधिकारीहरूले अमेरिकी पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको बताएका छन्। यद्यपि, इरानले सैन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

युद्धविरामका लागि भएको अन्तरिम समझदारी असफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त फेरि तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत् पूर्वाधार तथा अन्य रणनीतिक संरचनामा आक्रमण जारी राखेको छ भने इरानले कुवेतका विद्युत् केन्द्र र समुद्री पानी प्रशोधन संयन्त्रलाई लक्षित गरी जवाफी आक्रमण गरेको दाबी गरेको छ।

इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएसँगै संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढाएको छ।

होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी यो द्वन्द्व आठौँ दिनमा प्रवेश गरेको छ। विश्वव्यापी तेल तथा प्राकृतिक ग्यासको करिब २० प्रतिशत आपूर्ति यही जलमार्ग हुँदै हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्ने चिन्ता बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *