परिभाषाविहीन, दिशाविहीन र थितिविहीन राजनीति चलिरहेको छ : ओली
आइतबार पार्टी संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ पछिका राजनीतिक घटनाक्रमपछि मुलुकको राजनीति सही मार्गबाट विचलित भएको दाबी गरे।
उनले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान र कानुनले स्पष्ट प्रक्रिया निर्धारण गरेको उल्लेख गर्दै वर्तमान सरकारको गठन भने लोकतान्त्रिक अभ्यासअनुसार नभएको आरोप लगाए।
‘अहिले परिभाषाविहीन, दिशाविहीन र थितिविहीन राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्, तर अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीको आधारबाट भएको हो,’ ओलीले भने।
अध्यक्ष ओलीले मुलुकको राजनीतिक अभ्यासलाई लोकतान्त्रिक मूल्य, विधि र संस्थागत प्रक्रियाअनुसार अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए।
