बुद्ध एयरको बेडामा थपियो अत्याधुनिक एटीआर-७२-६००
काठमाडौं। बुद्ध एयरले आफ्नो हवाई बेडामा नयाँ एटीआर–७२–६०० सिरिजको अत्याधुनिक विमान थपेको छ। फ्रान्सको तुलुसबाट ल्याइएको ‘एन–एओएस’ कल साइन भएको उक्त विमान आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेपछि अर्को महिनादेखि नियमित व्यावसायिक उडानमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।
बुद्ध एयरका अनुसार नयाँ विमानमा अत्याधुनिक एभियोनिक्स, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली र उन्नत सुरक्षा प्रविधि जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्रीसमेत मानिन्छ।
यस विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ। यो प्रविधिको प्रयोगबाट काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिने कम्पनीको दाबी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया लागू गर्ने तयारी गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयन भएपछि करिब दुई हजार मिटर भिजिबिलिटीमै बुद्ध एयरको यो विमानले पोखरामा सुरक्षित उडान तथा अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।
बुद्ध एयरका अनुसार नयाँ प्रविधिले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा अवरोध उल्लेखनीय रूपमा घटाउनेछ। यसबाट उडान सुरक्षाका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता थप सुदृढ हुने कम्पनीको विश्वास छ।
हाल प्रयोगमा रहेको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) अनुसार पोखरा विमानस्थलमा अवतरणका लागि करिब ३,१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ।
बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर एटीआर–७२–६०० सिरिजकै अर्को विमान पनि भित्र्याउने तयारी गरेको छ। त्यसपछि केही महिनाभित्र सोही सिरिजका थप दुई विमान ल्याउने योजना कम्पनीको छ।
हाल बुद्ध एयरसँग एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० गरी १७ वटा विमान सञ्चालनमा छन्। नयाँ विमान थपिएसँगै कम्पनीले उडान क्षमता विस्तार गर्नुका साथै यात्रुलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
