कांग्रेस भेलामा वक्तालाई ३ मिनेटको समय, सकिएपछि माइक काटिने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्ने वक्ताका लागि समयसीमा तोकिएको छ।
आयोजकले प्रत्येक वक्तालाई आफ्नो धारणा राख्न अधिकतम तीन मिनेटको समय दिएका छन्।
भेलाका उद्घोषक एवं प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई समयको पाबन्दीबारे जानकारी गराएका हुन्। उनका अनुसार तीन मिनेटको समय पूरा भएपछि संसद्मा जस्तै वक्ताको माइक काटिनेछ।
‘प्रत्येक वक्तालाई तीन मिनेटको समय दिइएको छ, समय सकिएलगत्तै संसद्को अभ्यासमा झैँ माइक स्वतः काटिनेछ,’ विश्वकर्माले कार्यक्रममा जानकारी दिए।
धेरै नेता तथा कार्यकर्ताले धारणा राख्ने भएकाले सबैलाई बोल्ने अवसर उपलब्ध गराउन र कार्यक्रमलाई व्यवस्थित तथा छरितो बनाउन समयसीमा निर्धारण गरिएको आयोजकले जनाएको छ।
निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा भइरहेको भेलामा देशभरबाट उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवा शुक्रबार नै भेलामा सहभागी भएका हुन्। कार्यक्रम सुरु भएको करिब डेढ घण्टापछि भेलास्थल पुगेका देउवाले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र शक्ति समीकरणका बीच आयोजना गरिएको यो भेलालाई पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
