सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका हुन्।
एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्री नियुक्त भएका छन्। त्यसैगरी जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।
एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेपछि सोहीअनुसार तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको हो।
यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश प्रमुख मियाँले भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
मुख्यमन्त्री भट्टले शपथ लिए पनि उनको दल नेपाली कम्युनिस्ट पार्टीबाट भने तत्काल कुनै मन्त्री नियुक्त गरिएको छैन।
एमालेका मन्त्रीहरू सरकारमा सहभागी भएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढेको छ।
