`

एसियाली खेलकुदको मुखैमा राखेपले हटायो दुई टिम मेनेजर

Nepal One HD ३० भदौ २०८३ १८:१७
खेलकुद

काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता २०२६ नजिकिँदै गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई खेलका टिम मेनेजरको नाम अन्तिम समयमा हटाएको छ।

राखेपले उसुका टिम मेनेजर नवराज ढुंगाना र टेबल टेनिसका टिम मेनेजर कुबेरप्रकाश सिंहको नाम हटाएको हो। दुवै सम्बन्धित खेल संघका महासचिव हुन्।

ढुंगाना नेपाल उसु महासंघका महासचिव हुन् भने सिंह नेपाल टेबल टेनिस संघका महासचिव हुन्। उनीहरूको नाम हटाइएपछि नयाँ टिम मेनेजर कसलाई नियुक्त गरिएको हो भन्नेबारे भने राखेपले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

ढुंगानाका अनुसार राखेपकै मागअनुसार महासंघले उनको नाम टिम मेनेजरका रूपमा पठाएको थियो। एसियाली खेलकुदको तयारी तथा नेपाल ओलम्पिक कमिटीसँग सम्बन्धित विभिन्न काममा समेत आफू प्रत्यक्ष संलग्न रहेको अवस्थामा अन्तिम समयमा नाम हटाइएको उनले बताए।

टेबल टेनिस संघले भने आफ्ना महासचिव सिंहको नाम अन्तिम समयमा हटाइएकोप्रति औपचारिक आपत्ति जनाएको छ।

संघका अध्यक्ष विजेन्द्र हमालले जारी गरेको विज्ञप्तिमा राखेपले करिब सात महिनाअघि माग गरेअनुसार संघको बैठकबाट खेलाडी र प्रशिक्षकसँगै टिम मेनेजरका रूपमा सिंहको नाम पठाइएको उल्लेख छ।

त्यसपछि सिंहले नेपाल ओलम्पिक कमिटीले आयोजना गरेका एसियाली खेलकुदसम्बन्धी दुईवटा बैठकमा समेत टिम मेनेजरका रूपमा सहभागिता जनाइसकेको संघले जनाएको छ।

तर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला उनको नाम हटाइएको भन्दै संघले असन्तुष्टि जनाएको हो।

संघका अनुसार जिम्मेवारीअनुसार काम गरिरहेका व्यक्तिको नाम अन्तिम अवस्थामा हटाउँदा सिंह निराश भएका छन्। यसले टेबल टेनिस खेलको संस्थागत विकासमा समेत नकारात्मक असर पर्न सक्ने संघको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *