चोलेन्द्रसँग जोडिएका व्यक्तिहरूको घरघरमा छापा
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्पर्क रहेको भनिएका व्यक्तिहरूमाथि सरकारले निगरानी र अनुसन्धान बढाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको टोलीले जबरासँग पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको भनिएका केही व्यक्तिका घरमा छापा मारेर कागजात तथा अन्य प्रमाण संकलन गरिरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार जबराका केही पारिवारिक सदस्यसँगै बिचौलियाका रूपमा चर्चा गरिएका नवीन बस्नेत र नारायण दाहाललगायतका व्यक्तिको निवासमा समेत अनुसन्धान टोली पुगेको छ। टोलीले सम्भावित आर्थिक कारोबार र सम्पर्कसँग सम्बन्धित प्रमाण खोजिरहेको बताइएको छ।
जबरासँग नियमित टेलिफोन सम्पर्कमा रहेका केही कानुन व्यवसायी तथा अन्य व्यक्तिहरू पनि अनुसन्धानको निगरानीमा परेको स्रोतको दाबी छ। उनीहरूमध्ये केहीको घरमा छापा मार्ने कामसमेत भइरहेको बताइएको छ।
अनुसन्धान टोली अचानक घरमा पुग्दा कतिपय निवासमा परिवारका महिला तथा ज्येष्ठ नागरिक सदस्य मात्रै भेटिएका थिए भने केही घर बन्द अवस्थामा रहेको स्रोतले जनाएको छ।
यसै प्रकरणमा जबरा र जेलमा रहेका व्यवसायी दीपक भट्टसँग सम्पर्क देखिएको भनिएका इनाम सापकोटा पक्राउ परिसकेका छन्। सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाललाई समेत यही प्रकरणसँग जोडेर निलम्बन गरिएको बताइएको छ।
सरकारले केही दिनअघि जबरालाई मध्यराति निवासबाट नियन्त्रणमा लिएर हिरासतमा पुर्याएको थियो। यद्यपि पछि सरकारले उनलाई पक्राउ गरिएको नभई सुरक्षाका लागि लगिएको दाबी गरेको थियो।
जबरासँग जोडिएका व्यक्ति, आर्थिक कारोबार र सम्पर्क सञ्जालमाथि अनुसन्धान अघि बढिरहेका बेला पछिल्लो पटक विभिन्न व्यक्तिका निवासमा भएको छापा त्यसैको निरन्तरता भएको स्रोतको भनाइ छ।
