जनताको मत र विश्वास स्थायी होइन, कामबाट प्रमाणित गर्नुपर्छ – श्रीराम न्यौपाने
काठमाडौं – चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जनताले दिएको मत र विश्वास स्थायी नहुने बताएका छन्। जनताको अपेक्षाअनुसार काम गरेर ठोस परिणाम दिन सके मात्रै जनविश्वास कायम रहने उनको भनाइ छ।
चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबीच भएको अनौपचारिक राजनीतिक छलफलको भिडियो सार्वजनिक भएपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।
उनले पुराना राजनीतिक दलका नेताहरूको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाका कारण रास्वपाले ठूलो जनमत प्राप्त गरेको उल्लेख गरे।
न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन् – देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटकका लागि मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएका हुन्।
जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ।
हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो- जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ। यथार्थ पनि यहि नै हो।
