`

के भारत-नेपाल सम्बन्धमा नयाँ ब्रेक-थ्रु हुँदैछ?

रामचन्द्र जोशी ७ मंसिर २०८३ १५:२९
बिशेष

काठमाडौं। ‘हामीले पुराना ब्यागेज बोकेका छैनौँ,’ यो भारतीय भूमीमा रास्वपा शीर्ष नेतृत्व र सरकारका प्रभावशाली मन्त्रीले दिएको अभिव्यक्ति हो।

यहीबीचमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आइतबार भारत भ्रमणमा निस्किएका छन्। प्रधानमन्त्री बनेपछि पहिलोपटक विदेश भ्रमणमा जान लागेका शाहको यसअघि भारतसँग सम्बन्ध चिसिएको चर्चा पनि भइरहेका थिए। त्यसका पनि विभिन्न कारणहरू छन्।

अर्कोतिर वर्तमान सरकारले विदेशी मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउने वकालत पनि गरिरहेकै छ। त्यसका दृष्टान्त हुन्, परराष्ट्रमन्त्री शिशिर खनाल, रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्लेका भारतीय भूमिमा दिएका अभिव्यक्ति।

परराष्ट्रमन्त्री शिशिर खनालले दिल्ली ओर्लिएको भोलिपल्ट २३ जेठ २०८३ मा भनेका थिए, ‘हामीसँग पुरानो ब्यागेज छैन।’ यो भनाइ विवादित पुराना एजेन्डालाई बल्झाउनुभन्दा पनि विकास कूटनीतिलाई जोड दिने कुराको व्याख्या थियो।

खनालको त्यो भनाइले विगतका विवादित मुद्दाहरू कालापानी, लिपुलेक, सुस्तालगायतका सीमा, ईपीजी प्रतिवेदन, अग्निपथजस्ता एजेन्डामा बालेन सरकार प्रवेश गर्न नचाहेको अर्थ लाग्थ्यो।

खनालले बोलेको ठीक पाँच महिनापछि अर्थमन्त्री स्वर्णिम वाग्लेले दिल्ली आएर त्यही व्याख्या गरे। ‘भारतविरोधी राष्ट्रवादको युग’ सकिएको घोषणा गरे।

वाग्ले र खनालको अभिव्यक्तिसँग मिल्दो भनाइ रास्वपा सभापति रवि लामिछानेले दिल्ली भ्रमणको क्रममा राखिसकेका थिए। १९ जेठ २०८३ मा पाँचदिने दिल्ली यात्रामा निस्केका लामिछानेले भारतीय सञ्चारमाध्यममा विशेष लेख प्रकाशित गरेर मात्र होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसमक्ष नेपाल–भारत सम्बन्धलाई पुनर्परिभाषित गर्नुपर्ने तर्क गरेका थिए।

लामिछाने, खनाल र वाग्लेको अभिव्यक्तिभन्दा पहिला नै प्रधानमन्त्री बालेनले त्यसको संकेत दिइसकेका थिए। विगतजस्तो राजदूतहरूसँग एकल रूपमा नभेट्ने नीतिमा थिए, बालेन। प्रधानमन्त्री निर्वाचित भएको १२ दिनपछि २४ चैत २०८२ मा प्रधानमन्त्री बालेनले नेपालस्थित विभिन्न राजदूतलाई सामूहिक रूपमा भेटे र भने, ‘नेपालको प्राथमिकता आर्थिक कूटनीति हो।’ बालेनले सरकारको प्राथमिकता र आवश्यकता मात्रै बताएनन्, आउने दिनमा सम्बन्धहरू पुनर्परिभाषित हुने सन्देश पनि दिएका थिए।

बालेनको एकल रूपमा राजदूतलाई नभेट्ने नीतिले सबैभन्दा बढ्ता चिसो दिल्लीलाई बढेको थियो। नेपालका लागि भारतीय राजदूतहरू विगतमा प्रधानमन्त्रीलाई सहजै भेट्ने मात्र होइन, राजनीतिक संक्रमणका सहजकर्तासमेत बन्ने गरेका थिए। तर, बालेनले त्यस्ता भेटमा रोक लगाएपछि दिल्ली बेखुस थियो भन्ने चर्चा काठमाडौंमा भइरहेको थियो।

त्यही चर्चाका बीच दुईवटा घटना भए, दिल्लीसँग जोडिने। भारतीय विदेश सचिव विक्रम मिस्रीसँग जोडिएको सन्दर्भ। प्रधानमन्त्री बालेनलाई निम्तो कार्ड बोकेर काठमाडौं जान लागेका मिस्री अन्तिम समयमा रोकिए। २८ वैशाखमा काठमाडौं जान लागेका मिस्री दुई कारणले रोकिएको कूटनीतिक वृत्तमा चर्चा थियो।

पहिलो, प्रधानमन्त्री बालेनले ‘प्रोटोकल’ नमिल्ने भनेर भेटका लागि समय नदिएको। दोस्रो, लिपुलेक भएर बेइजिङसँग मिलेर व्यापारिक नाका प्रयोग गर्न गरेको दिल्लीको सहमतिमा काठमाडौंको असन्तुष्टि।

प्रधानमन्त्री बालेनका यिनै अडानका कारण दिल्ली असन्तुष्ट बन्दै गएको थियो। बालेनसँग असन्तुष्ट देखिएको दिल्लीले रास्वपा सभापति लामिछानेसँग सम्बन्ध विस्तार गरेको थियो।

सुरुमा प्रोटोकल नमिल्ने भन्दै भारतीय विदेश सचिव मिस्रीलाई भेट्न अस्वीकार गरेका शाहले केही दिनअघि मात्रै उनीसँग भेटवार्ता गरेका थिए। उसो त प्रधानमन्त्रीको सचिवालयले दुई वर्षसम्म कुनै पनि विदेश भ्रमण नगर्ने बताएको थियो। तर, फेरिँदो कूटनीति र भूराजनीतिका बीच प्रधानमन्त्री शाह आफ्नै अडानबाट पछि हटे। त्यसैक्रममा उनी अहिले पहिलो विदेश भ्रमणको क्रममा भारत प्रस्थान गरे।

भ्रमणका क्रममा विगतकै एजेन्डामा मोदी र शाह सरकारले सहमति गर्ने चर्चा छन्। तर, दुई सरकारले सम्बन्धलाई नयाँ परिभाषामा बदल्ने गरी ‘ब्रेकथ्रु’ परियोजनाहरूमा छलफल नै गर्न सकेका छैनन्। यसले भारत–नेपालको सम्बन्ध नयाँ शिराबाट अघि बढ्छ कि भन्ने बहस पनि अहिलेलाई भने टुंगिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *