प्रेसमाथि प्रहार, सरकारविरुद्ध पत्रकारको हुंकार
काठमाडौं। सरकारसँग प्रेस स्वतन्त्रताको विषयमा नेपाल पत्रकार महासंघको टकराव चर्किएको छ। पहिलो चरणको आन्दोलनबाट माग सम्बोधन नभएपछि महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
समाचार कक्षमा प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको र सञ्चारमाध्यममा अवरोध गर्नेमाथि कारबाही नभएको महासंघको आरोप छ।
गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निकालिएको, श्रम अधिकार उल्लंघन भएको र पत्रपत्रिकाले पाउनुपर्ने लोककल्याणकारी विज्ञापनको रकम रोकिएको विषय पनि महासंघले उठाएको छ।
पहिलो चरणको आन्दोलनपछि पनि सरकारले मागप्रति चासो नदेखाएको भन्दै महासंघले अब राजनीतिक दलका कार्यालयमै धर्ना दिने भएको छ। मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट सुरु हुने धर्ना १४ गते कांग्रेस, १५ गते एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपाको कार्यालयमा पुग्नेछ।
त्यसपछि मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने उल्लेख छ।
पत्रकारका माग सम्बोधन गर्नुपर्ने सरकार अब महासंघको सडक आन्दोलनको निशानामा परेको छ।
