सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय,मनोनयन दर्ता गर्ने तयारीमा


काठमाडौं । नेकपा एमालेले झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेमा उनको नाम सर्वसम्मत भएपछि घिमिरेले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्ने भएका हुन् ।
सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए । तर, यसपटक अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पुराना नेता तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई अघि सारेका छन् । नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन ।
सभामुखबारे छलफलका लागि कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ ।