`

गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

Nepal One HD ७ माघ २०८० ६:३९
राजनीति

जनकपुरधाम- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पत्ता लगाउन प्रहरी समक्ष आग्रह गर्नुभएको छ ।

जनकपुरधाममा बिहीबार राति अज्ञात समूहको आक्रमणमा परी घाइते हुनुभएका अध्यक्ष यादवको अवस्थाबारे आज जानकारी लिएपछि नेता निधिले मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु रेग्मीलाई सम्पर्क गरी घटनालाई गम्भीररूपमा लिई तत्काल सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो ।प्रादेशिक राजधानीमै जनप्रतिनिधिमाथि आक्रमण हुनु र घटनास्थलमा प्रहरीको तत्काल उपस्थिति नहुनु चिन्ताको विषय भएको भन्दै नेता निधिले आफ्नो कामको सिलसिलामा निर्धक्क हिँडडुल गर्न चुस्त शान्ति, सुरक्षाको व्यवस्थाका लागि पनि प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।भेटघाटका क्रममा अध्यक्ष यादवले बिहीबार राति अस्पतालमा रहेका बिरामी आफन्तलाई भेटेर घर फर्किने क्रममा वडा नं ७ स्थित तपसीचोक नजिक आफूलाई घेरा हालेर आक्रमण गरिएको बताउनुभएको थियो । आफ्नो परिचय खुलाउँदा पनि मरणासन्न हुनेगरी आक्रमण गरेकाले घटना नियोजितरूपमा भएको देखिन आएको र त्यसबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले तदारुकताका साथ काम गर्नुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।“मलाई रेकी गरेर आक्रमण गरिएको छ । तर आक्रमण किन र केका लागि गरियो भन्नेबारेमा अनुमान गर्न सकिरहेको छैन । त्यसकारण प्रहरीले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गरोस्”, अध्यक्ष यादवले भन्नुभयो ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले घटनाबारे जानकारी पाएलगत्तैदेखि प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो । रातिको समयमा घटना घटेको र अध्यक्ष यादवले समेत आक्रमणकारी कसैलाई नचिनेका कारण धेरै कुरा ठम्याउन कठिन भए पनि आफूहरूले उच्च प्राथमिकताका साथ घटनाबारे अनुसन्धान गर्ने र दोषीलाई उम्किन नदिने उहाँको भनाइ थियो । आक्रमणबाट अध्यक्ष यादवको हातको एउटा औँला भाचिएको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । हाल उहाँको अवस्था सामान्य छ । 


प्रतिक्रिया