पत्रकारितासँगै राज्यको विकासमा राससको भूमिका महत्वपूर्ण छ : सभामुख पाठक
हेटौँडा, ७ फागुन : बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पत्रकारिता क्षेत्र र राज्यको विकासमा राससको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । राससको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राससले लामो समयदेखि राज्यमा सूचनाको हक स्थापना गर्दै कुना कन्दराका जनतालाई सुसूचित गराउँदै आएको उल्लेख गर्नुभयो ।
राससले अझै सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सभामुख पाठकको भनाइ थियो । उहाँले भन्नुभयो, “राज्यमा सुशासन कायम गर्न राससले अझ थप सशक्तका साथ सूचना सम्प्रेषण गर्नुपर्ने हुन्छ ।”
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले राज्य पुनःसंरचनामा गएसँगै राससले पनि प्रदेशबाट सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले राससको थप विकासका लागि राससकर्मीको क्षमता विकास गर्न प्रदेश सरकारले तालिम दिन लागेको जानकारी दिनुभयो । राससलाई सङ्घीय संरचनामा लैजान बागमती प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो । प्रदेश सरकार राससको प्रदेश संरचनाको व्यवस्थानको जिम्मा लिन तयार रहेको उहाँको भनाइ थियो ।
समाजवादी प्रेस सङ्गठनका केन्द्रीय महासचिव रामकुमार एलनले राससले वर्तमान अवस्थामा दिइरहेको विषयवस्तुले पत्रकारितामा आयाम थपेको बताउनुभयो । उहाँले राससले थप गरेको श्रव्यदृश्य सेवा र विचारले सञ्चारक्षेत्रलाई मजबुद बनाउन काम गरिरहेको बताउनुभयो ।
गैरसरकाररी संस्था महासङ्घ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले राससले राज्यमा विकास र सुशासनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राससलाई अन्य सरकारी निकाय सरह सुविधा र प्रविधि सम्पन्न भवनबाट थप सेवाका साथ लैजाने वातावरण बनाउन सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा हेटौँडामा रहेका सरकारी कार्यालयका प्रमुख, सञ्चारसम्बद्ध सङ्घसंस्थाका प्रमुख, पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्यलगायत सञ्चारकर्मी, नारायणी यातायात व्यवसायी सङ्घका महासचिव सरोज खनाल तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
