रुसी राष्ट्रपति पुटिन प्योङ्याङमा


बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राजधानी प्योङ्याङ पुगेका छन् । उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरेका छन् ।
विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए ।
युक्रेनमा युद्ध जारी रहेकाले उनको अस्त्र आवश्यकताका कारण पुटिनले प्योङ्याङ भ्रमण गरेको विज्ञहरू बताउँछन् । पुटिन र किमले बुधवारै कैयौँ बैठकहरूमा सहभागिता जनाउने छन् भने राजकीय भोजमा पनि उनीहरू सरिक हुनेछन् । पुटिन २४ वर्षपछि प्योङ्याङ गएका हुन्।
सन् २००० मा उनले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दा किम जङ इल सत्तामा थिए । गत सेप्टेम्बरमा रुसको भोस्टोच्नी कोस्मोड्रोममा दुई नेताबीच भेटघाट भएको थियो। त्यहाँ किम जङ अनले दिएको निम्तो पुटिनले स्वीकार गरेका थिए ।
दुई नेताबीच भएको त्यो भेटवार्तालाई दुई देशको सम्बन्धको आधार मान्ने हो भने प्योङ्याङमा भएको भ्रमणले उनीहरूले त्यसमा कति प्रगति गरेका छन् भन्ने देखाएको छ । अब उनीहरूले गर्न सक्ने सैन्य सहकार्यमा अहिले विश्वको ध्यान केन्द्रित छ ।