जबजको कार्यान्वयनमाथि प्रश्नै प्रश्न


मोनिका सिंह ।
पूर्वी युरोप लगायत संसारका अधिकांश मुलुकबाट जुनबेला कम्युनिष्ट सत्ता धमाधम ढलिरहेको थियो त्यही बेला नेपालमा भने कम्युनिष्टहरु क्रमशः सत्ता नजिक पुग्दै थिए। सांसरभर भएको घटनाको अपवाद थियो नेपाल । १९९० मा कम्युनिष्ट सत्तालाई संसारभरीबाट बिदा गरिरहदा नेपालमा भने प्रभावशाली बनिरहको थियो। ओरालो लागेको कम्युनिष्ट सत्ता नेपालमा उकालो लाग्नुको कारण हुनुहुन्थ्यो जननेता मदनभण्डारी र उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद । ससारबाट कम्युनिष्ट सकिए भन्ने पूजीवादी प्रचार भएको बेला नेपालमा त्यसको विरुद्ध ठिङ्ग उभिनु भएको थियो जननेता मलन भण्डारी जवजको सिद्धान्त लिएर ।
जननेता मदन भण्डारी नेपाली राजनीतिमा आदरणीय नाम हो । कम्युनिष्ट आन्दोलनलाई डोर्याएर अघि बढाउने प्रणेता समेत रहनुभएका जननेता मदनले प्रतिपदान गर्नुभएको जनताको बहुदलीय जनवाद सिद्धान्त नेपाली राजनीतिको एउटा कोशेढुंगाको रूपमा रहेको छ । यो सिद्धान्त अनुसरण गरेको पार्टी नेकपा एमाले ३० बर्ष देखि कहिले सत्ता र कहिले प्रतिपक्षमा छ। जननेता मदनभण्डारीकी पत्नी विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति भइसक्नु भएको छ। उहाँ त देशको सर्बोच्च पदमा पुगिसक्नु भएको छ। तर मदन भण्डारीले स्थापित गरेको जबजले कति उचाई प्राप्त गर्यो ? यो प्रश्न पनि धेरेको मनमा बसिरहेको छ।
जबजको नीतिकै आधारमा नेकपा एमालेले बहुलवादी राजनीतिलाई स्वीकार गरेर विक्रम संवत २०४८ सालको आम निर्वाचनमा सहभागी भई मुलुकको प्रमुख प्रतिपक्षी दलको रूपमा स्थापित भएको स्वर्णीम इतिहास छ । त्यसपछि पटकपटक मुलुकको सत्ताको बागडोर सम्हालेर विकासको मुल फुटाउन सकेको हो ।
मार्क्सवादको रचनात्मक प्रयोगको रूपमा परिचित जबजमा प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र आवधिकरुपमा जनताबाट अनुमोदित हुनुपर्ने जस्ता उत्तम विशेषताका कारण यो विगतमा मात्र होइन, वर्तमान समयमा समेत सान्दर्भिक छ । पार्टीभित्रको लोकतान्त्रिकरणलाई समेत महत्वका साथ उठाइएकोले पार्टीभित्रमात्र होइन विरोधीहरुले समेत जननेता मदनको मुक्तकण्ठले प्रशंसा गर्छन् ।
तर जबजले प्रतिपादन गरेको सिद्धन्तका यी बुँदामा भने प्रश्न यथावत छ । कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ भनेर जबजमा उल्लेख छ। तर पटक पटक संविधान मिच्ने प्रयास भएको, पार्टीमा गुटबन्दी मौलाएको र एउटाले अर्कोलाई समाप्त पर्ने कल्पना जबजले गरेको थियो ?
शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन भन्ने जबजको ब्याख्या माथि प्रश्न उठेको छैन र ? पटक पटक सत्तामा भएको बेला न्यायापालिका , कार्यपालिका र व्यवस्थापिकामा अनावश्यक हस्ताक्षेप भएको कुरा जबजले स्विकार गर्न सक्ला ?
राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ भन्ने जबजको मान्यात ब्यबहारमा लागु भएको छ ? अहिले संसदमा भएको सत्ताका फोहोरी खेलले जबजलाई गिज्याएको पो छ कि ?
बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो भन्ने जबजको ब्याख्या अहिलेको संसदमा लागु भएको होला त ? । त्यसो भए संसदमा तेस्रो स्थान भएको पार्टीले किन सरकारको नेतृत्व गरिरहेको छ ? के माथि उल्लेख भएको जबजले गर्न खोजेको यही थियो ?
कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन भन्ने जबजको ब्याख्यमाथि दण्डहीनता र राजनीतिमा अपराधीकरणको घटनाले प्रश्न उठाएको छैन र ? हत्या अभियोगमा जेल संजाय भोगेर जेल सजाय काटी रहेका अपराधीहरु राजनीतिक संरक्षाणमा बीचैमा छुट्दा उनीहरुले दल्ने अविरले राजनीतिमा कालो पोतिएको छैन र ? नीति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने । सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने भन्ने जबजको व्याख्यालाई व्यवहारमा उतारेको बिषयले प्रश्नै प्रश्न उठाएको छैन ? पार्टीमा आफ्नो गुटको नेतृत्व हत्याउन अनेक अनुचित तरिका प्रयोग गरेको घटना नेपाली जनताको आँखामा छिपेको छ र ?