शहीद घोषणा नभएसम्म सुरेशको शवको पोष्टमार्टम गर्न नदिने परिवारको अडान


काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित शुक्रबार काठमाडौँको तिनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा आगजनीमा परेर निधन भएका एभिन्युज टीभीका पत्रकार सुरेश रजकको शव अझै पोस्टमार्टम हुन सकेको छैन ।
उनको परिवारले घटनाको निष्पक्ष छानबिन तथा शहीद घोषणा र क्षतिपूर्तिको माग पूरा नभएसम्म शवको पोस्टमार्टम गर्न इन्कार गरेको हो । उनका दाइ रमेश रजकले बजारमा भने पोष्टमार्टम भइसकेको र रजकको शरीरमा गोलीका छर्रासमेत फेला परेको हल्ला व्यापक बनेको भन्दै आपत्ति जनाएका छन् । उनले लाशमाथि राजनीति नगर्न पनि आग्रह गरेका छन् ।
पत्रकार रजकलाई तिनकुनेमा भएको प्रदर्शनका क्रममा राजावादी आन्दोलनकारीले व्यक्तिको घरमा लगाएको आगोमा परेर जलेको अवस्था शव फेला परेको थियो । उनी टेलिभिजनका लागि भिडियो खिच्न तिनकुनेस्थिति आन्दोलनकारीले आगजनी गरेको घरमा पुगेका थिए । रजक एभिन्युज टीभीका क्यामरा पर्सन थिए ।
टेभिजिनका लागि भिडियो खिचिरहेकै बेला उनी अचानक सम्पर्कविहीन भएका थिए । पछि उनको खोजी कार्य गर्दै जाँदा आगजनी गरेको घर भित्रै जलेको अवस्थामा भेटिएका थिए । यता सुरेशकी पत्नीलाई भने उनको मृत्युको खबर परिवारले हिजो मात्रै दिएको छ । मृतक सुरेशका दाइकाअनुसार आफू आन्दोलनकारीले आगजनी गरेको घरकै बाहिरबाट भिडियो खिचिरहेको अवस्था पनि भाइ आगोमा फसेको जानकारी नै नपाएको भन्दै सुरेशको मृत्यु हुनु घटना नभई नियोजित भएको बताएका छन् ।
सुरेशको निधनपछि परिवारको बिचल्ली भएको छ । सुरेशको निधनपछि बज्रपातमा परेकी उनकी श्रीमती बेसहारा बनेकी छिन् । यता, सविनको शव पोस्टमार्टम गर्न परिवारले मानेका छैनन् । भाइलाई शहीद घोषणा गर्नुपर्ने र परिवारलाई आर्थिक क्षतिपूर्ति दिइनुपर्ने तथा बुहारीलाई राज्यले रोजगारीको व्यवस्था पनि गर्नुपर्ने मृतक सुरेशका दाइले माग राखेका छन् ।
उक्त विषयमा एभिन्युज टीभी परिवारले पनि समर्थन जनाएको मृतक सुरेशका दाइ रमेशले बताएका छन् । साथै राप्रपाको हिजो बसेको बैठकले आन्दोलनमा निधन भएका पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने माग गरेको थियो ।