कुनै बमबारुद केही पड्कदैन, एमाले एक छ र एकै रहन्छः प्रधानमन्त्री ओली


काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त पार्ने विरोधीको चाहना पूरा नहुने बताएका छन् ।
शनिबार मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले गरेको जबजका तीन दशक विचार कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा एमाले एक भएको र एक रहने बताएका हुन् । उनले एमालेको एकता भाँडिन्छ भनेर प्रचार गरिएको बताए ।
उनले भने, ‘यसमा मान्छेले विभिन्न आस गरेका छन् । त्यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पडकाउनुहुन्छ । ‘यहीँबाट एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर बसेका छन्। । तर एमाले एक छ र एक नै रहन्छ । कसैले पनि त्यस्तो आशा नराखे हुन्छ । कुनै बमबारुद केही पड्कदैन । आस पनि कस्ताकस्ता ।’
प्रधानमन्त्रीले आज पनि मदन भण्डारीकै विचारमा देश अगाडि बढेको बताए । उनले भण्डारीको विचारमा देशकै मियो बनेको बताए ।
उनले भने, ‘विश्वमै वामपन्थी र समाजवादी आन्दोलनमा भयानक संकट पैदा हुँदा भण्डारीले नयाँ बाटो मदन भण्डारीले अगाडि सार्नुभयो । वामपन्थी र विश्व समाजवादी आन्दोलन अगाडि बढ्नुपर्छ भन्ने विचार प्रस्तुत गर्नुभयो । आज पनि नेपाल उहाँकै विचार सेरोफेरोमा को मियो मानेर अगाडि बढेको छ ।’
उनले शुरूमा जनताको बहुदलीय जनवाद नभनिए पनि जनवादको दिशा समातेको बताए । प्रधानमन्त्री ओलीले महाकाली सन्धि सही रहेको दाबी गर्दै सरकार कार्यान्वयनको पक्षमा रहेको बताए ।
उनले महाकाली सन्धि निकट भविष्यमै कार्यान्वयनमा ल्याइने बताए । उनले भने, ‘महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ, सबै यसको पक्षमा छन् । सम्भव भएसम्म निकट भविष्यमै सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर कार्यान्वयन गर्छौँ ।’
प्रधानमन्त्रीले कुनै खोलानाला नबेचेको भन्दै एमालेले देशको सार्वभौमिकतालाई तलमाथि हुन नदिने बताए ।
प्रधानमन्त्री ओलीले आफू आजै स्पेन जाने भएकोले पाँच बजे विमानस्थगल पुग्नु छ भन्दै सम्बोधन सकाएका थिए । सम्बोधनको अन्त्यमा उनले पूर्वराष्ट्रपतिले आफ्ना कुरा सुन्न आग्रह गरेपछि समयअभावले सुन्न नपाउने बताए ।
उनले भने, ‘सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरो कुरा पनि सुन्दिनुहोस् भन्दै हुनुहुन्थ्यो । तर म हतारमा छु । मैले सुन्नै पर्दैन, विद्याजीले राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ । आज मात्रै होइन, पहिलादेखि नै सुन्दै आइएको हो ।’