`

इजरायलले फेरि आक्रमण गरे नयाँ मिसाइल तैनाथ गर्ने इरानको घोषणा

Nepal One HD ४ भदौ २०८२ १७:३९
विश्व

तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि तयार रहेको बताएको छ ।

“१२ दिनको युद्धमा प्रयोग गरिएका मिसाइलहरू केही वर्षअघि निर्माण गरिएका थिए”, रक्षामन्त्री अजिज नासिरजादेहले आधिकारिक इरना समाचार एजेन्सीलाई उद्धृत गर्दै भने, “आज हामीसँग अघिल्ला मिसाइलहरू भन्दा धेरै क्षमतायुक्त मिसाइलहरू छन्, र यदि यहुदीवादी दुश्मनले फेरि आक्रमण सुरु गर्‍यो भने हामी निश्चय तिनलाई प्रयोग गर्नेछौँ ।”

जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध बम आक्रमण अभियान सुरु गरेपछि युद्ध चर्किएको थियो । त्यसको जवाफमा इरानले मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।

इजरायली आक्रमणमा वरिष्ठ सैन्य कमान्डर, आणविक वैज्ञानिकसहित सयौँ मानिस मारिएका थिए । आक्रमण सैन्य आधार र आवासीय दुवै क्षेत्रमा गरिएको थियो । संयुक्त राज्य अमेरिका पनि केही समयका लागि इरानी आणविक सुविधामाथि आक्रमण गर्दै युद्धमा संलग्न भएको थियो ।

जुन २४ देखि इरान र इजरायलबीच युद्धविराम कायम छ । तर तेहरानले युद्ध खोजेको नभए पनि कुनै पनि द्वन्द्वका लागि तयार रहेको प्रष्ट पार्दै इरानी अधिकारीहरूले अर्को चरणको लडाइँ कुनै पनि क्षण सुरु हुनसक्ने चेतावनी दिएका छन् ।

सोमबार प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले इरान ‘टकरावका लागि हरेक क्षण तयार’ रहनुपर्ने बताए । उनले भने, “हामी युद्धविराममा छैनौँ; हामी शत्रुताको अन्त्यको अवस्थामा छौँ ।”

इरानी मिडियाका अनुसार सेनाले बिहीबार दुई दिने सैन्य अभ्यास सुरु गर्नेछ । यसमा छोटो र मध्यम दूरीका क्रुज मिसाइलहरूको विस्तृत शृङ्खला समावेश हुनेछ । पश्चिमी मुलुकहरूले बारम्बार इरानको क्षेप्यास्त्र कार्यक्रमलाई क्षेत्रीय सुरक्षाका लागि खतरा भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जुलाईमा फ्रान्सले तेहरानसँग यसको आणविक कार्यक्रम मात्र नभई क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय महत्वाकांक्षा समेट्ने ‘व्यापक सम्झौता’ गर्न आह्वान गरेको थियो ।

तर इरानले आफ्नो सैन्य क्षमतालाई वार्ताका लागि प्रस्तुत गर्न अस्वीकार गर्दै यसलाई आफ्नो रक्षा अधिकारको हिस्सा भएको दोहोर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *