`

कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौं : कांग्रेस

Nepal One HD २५ भदौ २०८२ १६:४२
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ ।

प्रवक्ता डा. प्रकाश शरण महतले एक विज्ञप्ति जारी गर्दै देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नव युवाहरूले अवश्य पनि यस्तो नचाहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । धेरैको घर निजी सम्पत्ति, उधोग व्यावसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरण लाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ ।’

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ । कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ ।’

लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनस्र्थापना लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।’ जेन जी आन्दोलनको क्रममा भएको दुःखद घटना भएकोप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *