`

जेन–जी आन्दोलन अधूरो क्रान्तिको निरन्तरता हो : प्रचण्ड (भिडियोसहित)

Nepal One HD २ असोज २०८२ १७:१७
भिडियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले १० वर्ष पूरा गरेको महत्वपूर्ण मोडमा राष्ट्र संकटको संघारमा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान दिवसको पूर्व सन्ध्यामा हजारौं शहीदको बलिदान, लाखौं नागरिकको त्याग र जनयुद्ध–जनआन्दोलनको ‘फ्युजन’ बाट जन्मिएको संविधानलाई जनताले आफैंले लेखेको ऐतिहासिक दस्तावेजको रूपमा स्मरण गरेका छन् । तर भर्खरैको जेन–जी आन्दोलन र त्यसपछिका घटना क्रमहरूले देखाएको असन्तुष्टि संविधानको निरन्तरता र परिमार्जनको माग भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भदौ २३ गतेको जघन्य नरसंहारमा ७० भन्दा बढी युवाहरु मारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आन्दोलनमाथि भएको दमनको कडा भत्र्सना गरे । उनले भने, ‘२३ गतेको आन्दोलन जेन–जीको वास्तविक आवाज थियो, तर २४ गतेका तोडफोड, आगजनी, र लुटपाटमा जेन–जीको अनुहार थिएन । त्यो प्रतिगमनकारी र आपराधिक तत्वको खेल हो ।’ उनले देशको गौरवका प्रतीक सिंहदरबार, संसद, सर्वोच्च अदालतमा भएको आक्रमणलाई लोकतान्त्रिक आन्दोलनमा अस्वीकार्य भन्दै, सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरे ।

‘हिजो हामीले भनेकै एजेण्डा आजको आन्दोलनले उठायो’
पूर्व प्रधानमन्त्रीले जेन–जी आन्दोलनका मागहरूमाथि बोल्दै आन्दोलनले उठाएका धेरै एजेण्डाहरू माओवादी जनयुद्ध र संविधानसभा बहसका बेला उठाइएका असहमतिहरूसँग मिल्ने बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र शक्तिको विकेन्द्रीकरण जस्ता मुद्दाहरूलाई त्यतिबेलै स्वीकार गरिएको भए, आजको विद्रोह हुनुपर्ने थिएन भन्ने धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले परम्परागत दलहरूमाथि जनताको आवाज नसुनिएको आरोप लगाउँदै भने, ‘श्रीलंका र बङ्गलादेश जस्ता संकट संसदको संख्याको नभएर जनताको भावनालाई नबुझेको कारणबाट उत्पन्न भएको थियो ।’
नले आफ्नो पार्टीका कमजोरीहरू पनि खुलेर स्वीकार गरेका छन् । उनले भने, ‘ हामी गलत विचार लिएनौं, तर व्यवहारमा कतै चुक्यौं । शहीद परिवार, अपांग योद्धा, पीडित समुदायसँगको सम्बन्ध कमजोर भयो ।’ गठबन्धनको बाध्यात्मक राजनीतिले पार्टीलाई असर पारेको स्वीकार गर्दै उनले नेतृत्व हस्तान्तरणबारे छलफल भइरहेको पनि जानकारी दिए ।

अन्तरिम सरकारलाई सफल बनाउने र संविधान संशोधनको माग

उनले वर्तमान अन्तरिम सरकारलाई असफल बनाउन सक्ने षड्यन्त्रहरूप्रति सचेत रहनु पर्ने बताए । उनले जेन–जी आन्दोलनको बलमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीसहितको संविधान संशोधन गर्न सकिने सुवर्ण अवसर भएको बताए। अहिले त्यो आन्दोलनको उपलब्धि केवल ‘अन्तरिम सरकार र चुनाव घोषणामा सीमित’ भएकोमा दुःख व्यक्त गरे ।

संविधान, लोकतन्त्र र राष्ट्र स्वाधिनताको संरक्षणमा आह्वान
उनले भने, ‘संविधानको विकल्प अर्को संविधान हो, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो । इतिहासको चिहानबाट फर्कन खोज्नेहरू युवा पुस्ताको क्रान्तिलाई प्रयोग गरेर उपलब्धि उल्ट्याउने षड्यन्त्रमा छन् ।’ उनले सम्पूर्ण देशभक्त, लोकतन्त्रवादी, गणतन्त्र पक्षधर शक्ति र आम जनसमुदायलाई राष्ट्रिय एकताको आन्दोलन सिर्जना गर्न आह्वान गर्दै संविधान दिवसको दिन राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने संकल्प गर्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *