`

चट्याङ लागेर बालिकाको मृत्यु, बुबा–आमासहित पाँच जना घाइते

Nepal One HD ९ असोज २०८२ ७:३६
समाज

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बुबा–आमासहित अन्य पाँच जना घाइते भएका छन् । चट्याङ लागेर तीन वटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ पर्दा स्थानीय नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको मृत्यु भएको हो । आफ्नै घरमा बुवा–आमासँग सुतिरहेको बेला परेको चट्याङ लाग्दा बालिकाको मृत्यु भएको हो ।

चट्याङ लागेर बालिकाका बुवा २३ वर्षीया नेरसिंह र आमा २२ वर्षीया सुन्तली घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पति–पत्नीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल प्यूठान लगिएको छ ।

त्यस्तै गुल्मीकै इस्मा गाउँपालिका–४ दोहोलीमा पनि हिजो परेको चट्याङले लागेर तीन जना घाइते भएका छन् । इस्मा ४ की ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका–७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी चट्याङ लागेर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ लाग्दा घाइते भएका हुन् । घाइते सबैको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । यसैबीच चट्याङ लागेर गुल्मीको मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरु समेत मरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *