एक सय २९ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा


दमौली (तनहुँ) – तनहुँको ऋषिङ गाउँपालिकाले १२९ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकाले सबै वडाका विपन्न नागरिक छनोट गरी स्वास्थ्य बिमा गरिदिएको हो ।
विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रका आठ वटै वडाका विपन्न नागरिक छनोट गरी स्वास्थ्य बिमा गरिएको छ । प्रवक्ता दरैले भन्नुभयो, “विपन्न नागरिक आर्थिक अभावका कारण सहज रूपमा स्वास्थ्यको पहुँचमा आउन सकेको अवस्था छैन । स्वास्थ्य बिमापश्चात् त्यस्ता परिवारलाई सहयोग पुग्नेछ ।”
बढीमा पाँच जना सदस्यसम्मका विपन्न परिवार वडा समितिले छनोट गरेको छ । गाउँपालिकाभित्र रहेका सात जना बिमा दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने काम भएको हो ।
प्रवक्ता दरैका अनुसार वडा नं १ का १०, वडा नं २ का १७, वडा नं ३ का १८, वडा नं ४ का १७, वडा नं ५ का १५, वडा नं ६ का १७, वडा नं ७ का १७ र वडा नं ८ का १८ जनाको परिवारको स्वास्थ्य बिमा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने भन्दै बिमा रकम तिर्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गराइएको उल्लेख गर्नुभयो ।
जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्डका अनुसार अझै ५५ प्रतिशत जनता स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर छन् । जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये एक लाख ४५ हजार ७९८ जना स्वास्थ्य बिमाको पहुँचमा रहेको कार्यालयले जनाएको छ ।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको रु ७०० का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गरिरहेको छ ।