`

‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

Nepal One HD २४ असोज २०८२ ७:००
समाज

खोटाङ, २४ असोज : जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।

जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा अर्थाभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारीसाधन भरिभराउ हँुदा भनेजस्तो सिट नपाएर माइती÷मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।

दसैँको टीका (असोज १६ देखि असोज १९ गते) सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत सेवा दिएका हुन् ।

दशवटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको अभियानअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारबाट २३ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५, दिप्रुङ चुइचुम्माबाट २१ तथा रावाबेँसीबाट २२ जनाले मोटरसाइकल सेवा लिएका छन् ।

पहाडी भूगोल, कच्ची सडक र बर्खायामका कारण बिग्रेर अवरुद्ध बनेका सडकमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिनुभयो । “बिनास्वार्थ चाडपर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहारलक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “तिहारका लागि आउँदो कात्तिक ५ देखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।”

यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाईल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका र सवारीसाधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउनेजाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण सङ्कलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिनुभयो ।

युवा समूहले सञचालन गरेको अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँतिहारमा चार सय १५ छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *