`

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

Nepal One HD १ कार्तिक २०८२ ७:१४
समाचार

बागलुङका ग्रामीण सडकहरू तिहारको समयमा सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावत र सामान ढुवानी गर्न सहज भएको छ।लगातारको वर्षाले अवरुद्ध भएका सडकहरू दसैँमा खुल्न सकेका थिएनन्, तर अहिले तिहार नजिकिँदै गर्दा खुलेका छन्।

सडक सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले बजारबाट सामान ढुवानी गर्न गाडीको प्रयोग गर्न थालेका छन्।बागलुङ। यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झन्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।

दसैँमा खुल्नु पर्ने भए पनि लामो वर्षा हुँदा सडक थप बाढी पहिरोले अवरुद्ध भएका थिए । तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ । दसैँमा बोकेरै बजारदेखि सामान गाउँ पुर्‍याएका स्थानीयले सडक खुलेपछि गाडीमा ढुवानी गर्न थालेका छन् ।

असार दोस्रो सातादेखि बन्द भएका सडक खुलेपछि यात्रा गर्न र सामान ढुवानीमा सहज भएको निसीखोला गाउँपालिका–१ का कर्णबहादुर सुनारले बताए । गत साउनमा पहिरोले सडक पुरिएपछि गाउँलेले पैदल हिँड्न र बोकेर सामान ल्याउन बाध्य भएका थिए । सुनारले भने, “यो वर्ष गाउँको बाटो ठाउँ–ठाउँमा पहिरोले पुरियो, दसैँमा खुल्नु पर्ने खुलेन, अहिले तिहार सुरु नहुँदै खुल्यो, दसैँमा त बजारबाट नुन, तेल र चामल बोकेर ल्यायौँ, तिहारमा चाहीँ गाडीलेनै ल्याउने भयो ।”

जिल्लाको सबैभन्दा विकट गाउँ नजाखानी, भत्रिवन र पात्ले जोड्ने सडक पनि सञ्चालनमा आएका छन् । तमानखोला गाउँपालिकाले केही दिन अगाडि मेसिन लगाएर सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएका हुन् । नर्जा खोलामा पानीको बहाव बढी हुँदा दसैँमा सवारीसाधन चल्न नसकेको स्थानीय बिमल छन्त्यालले बताए । अहिले खोलामा पानीको बहाव कम भएपछि गाडी चल्न थालेको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दसैँ अगावै सबै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकेकामा अहिले सबै सडक खुलाएको बताए । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि तमान, लम्मेला हुँदै म्याग्दी जोड्ने सडक भने खुङ्खानीखोलामा पानीको बहाव नघट्दा गाडी चल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । तर तमान लाम्मेलासम्म ढोरपाटनको खुङ्खा हुँदै सवारी साधन चल्ने अध्यक्ष बुढा मगरले बताए।
निसीखोला गाउँपालिकाले पनि वडा नम्बर १ देखि ७ सम्मका अधिकांश सडक खुलाएको गाउँपालिकाले जनाएको छ । केही सडक खुलाउने क्रममै रहेको हुँदा तिहारसम्म खुलाई सक्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *