नेतृत्व छोड्न तयार छुः प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताए। उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गरे । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए ।
उनले अरुलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गरे । उनले भने, ‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन । के बलिदान गर्न पर्छ म गर्न तयार छु । आजै म तपाईहरुको अगाडी घोषणा गर्न चाहन्छु । देश बच्न प¥यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । मैले यिनैकुरा विचार गरेर नै केन्द्रिय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसंग अपिल गर्दछु ।’
उनले पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन पनि आग्रह गरे।