सामान लुट्दै–चोर्दै भाग्दै गर्न हुँदैन भनेको सुनेर सरकार रिसायो होला ? – ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी, लुटपाटजस्ता घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रश्न गरे, ‘सामान लुट्दै–चोर्दै भाग्दै गर्न हुँदैन भनेको सुनेर सरकार रिसायो होला ? आगो लगाउनु हुँदैन भनेकोमा रिसायो होला ? शान्तिको कुरा गरेको सुनेर रिसायो होला ?’
सरकारप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि म भन्न चाहन्छु यो देशमा नेकपा एमाले पनि छ । हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण देशको रूपमा परिणत गरेरै छाड्छौं ।’उनले सामाजिक सन्तुलन भंग गर्ने र हिंसात्मक गतिविधिबाट लाभ उठाउने प्रयासहरूलाई अस्वीकार्य ठहर गरे । ‘अर्काको सम्पत्ति लुटेर आफ्नो जीविकोपार्जन चलाउने, अधुरो खुसीका लागि हिंसा मच्चाउने, अर्काको घरमा आगो लगाउने—कस्तो रिस हो यो? कस्तो आक्रोश हो?’ ओलीले प्रश्न गरे ।
उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए ।