सिंहदरबारका सैनिक कमाण्डर सेनाको नियन्त्रणमा


काठमाडौं । सैनिक मुख्यालयले सिंहदरबारमा खटिएका सैनिक कमाण्डरलाई सोधपुछका लागि बोलाएको छ । सिंहदरबार जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै सेनाको सर्वत्र आलोचना भएपछि त्यहाँ खटिएका कमान्डरसँग मुख्यालयले सोधपुछ गर्न थालेको हो।
सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी ब्यारेकका शिव भडेललाई अस्ती ३१ गते सरुवा गरिएको सर्कुलर निकालेर सेनाले भित्रभित्रै हिरासतमा राखेको बुझिएको छ । सिंहदरबारमा सेनाको नरसिंह दल गण छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ठूला घटना भइसकेपछि सम्बन्धित ठाउँमा खटिएका कमाण्डरसँग पृष्ठपोषणका लागि झिकाइएको हो ।
उनले भने, ‘ठूला घटना हुन्छन्, हामीले त्यो घटनाको बारेमा आवश्यक जानकारी लिन सम्बन्धित ठाउँमा खटिएका कमाण्डरलाई झिकाएर सोधपुछ गर्छौं ।’ सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार कर्णेल खड्कालाई नम्बर २ बाहिनी अड्डा,धनकुटाको दरवन्दी राखिएको छ । उनले भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,प्रधानन्यायाधीशलगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिएका थिए तर सिंहदरवारभित्र दिनदहाडै त्यत्रो आगलागी र क्षति हुँदा पर्याप्त सावधानी अपनाएनन् ।