पछिल्लो एक वर्षमा घट्याे प्रेस स्वतन्त्रता हननका १२१ घटना
काठमाडौं । पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ वटा घटना भएका छन् । सबैभन्दा बढी ५० वटा धम्की र दुर्व्यवहारका घटना भएका छन् ।
प्रेस काउन्सिल नेपालका प्रवक्ता तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार पत्रकारमाथि धम्की र दुर्व्यवहारका घटना सर्वाधिक बागमतीमा १९ र मधेस प्रदेशमा १५ वटा भए ।
कुटपिट, आक्रमण र आगजनीका ३७ वटा घटना भएको छ । यी घटना सबैभन्दा बढी बागमतीमा १६ र मधेसमा ११ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
पेसागत असुरक्षाका १५ वटा घटना भएकोमा १४ वटा बागमतीमै भए । कब्जा र अवरोधका ९ वटा, पक्राउ तथा पक्राउ प्रयासका ५ वटा, नीतिगत बन्देज र शंकास्पद मृत्युको २–२ वटा र लैङ्गिक हिंसाका एकवटा घटना भए ।
प्रेस स्वतन्तता हननका घटनाबाट १९० जना पुरुष र १० जना महिला पीडित भए ।
यस अवधिमा १० वटा प्रेस स्वतन्त्रता दुरुपयोगका घटना पनि भएको काउन्सिलका प्रवक्ता खनालले बताए ।

