महेश बस्नेतको गम्भीर आरोप – ‘कांग्रेस विभाजनमा प्रधानमन्त्री कार्की पनि संलग्न’
काठमाडौं । एमाले सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की संलग्न भएको गम्भीर आरोप लगाएका छन् ।
कांग्रेस, एमालेजस्ता शक्तिलाई कमजोर बनाउन उनले प्रधानमन्त्री कार्कीसहित अन्तर्राष्ट्रिय शक्तिहरू लागेर कांग्रेस विभाजन गरेको आरोप लगाए ।
‘जुन ढङ्गले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्यो, त्यो बेठिक गर्यो भन्ने शेरबहादुर देउवाजीहरूले भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । कांग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो,’ उनले शनिबारसचिवालय बैठकस्थल च्यासलमा पत्रकारहरूसँग उनले भने, ‘कांग्रेस र एमालेजस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछानेजस्ता बलियो बनाउने कुरामा सुशीला कार्कीलगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढङ्गले लागेका छन् । यो निकै गम्भीर विषय हो भन्ने हाम्रो निष्कर्ष हो ।’
उनले कांग्रेसको विभाजनलाई निकै गम्भीरताका साथ हेरिरहेको पनि बताए ।
शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको नेपाली कांग्रेसलाई आधिकारिता दिएको थियो ।
लगत्तै बस्नेतले आयोगको निर्णयलाई आलोचना मात्रै गरेनन्, आन्दोलन गर्नेसम्मको चुनौती दिए ।
