`

भयमुक्त वातावरणमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी

Nepal One HD ५ माघ २०८२ १८:०४
राजनीति

काठमाडौँ, माघ ५ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ ।मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उहाँले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षासमेत गर्नुभएको उल्लेख गर्नुभएको छ ।

निर्वाचन घोषणा भएसँगै आयोगले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनाई अघि बढेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब भोलिअर्थात् माघको ६ गते जो–जो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयन पत्र दाखिल गर्ने समय आएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ ।”

कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले गए राति १२:०० बजेदेखि आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताउनुभएको छ ।

“अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ”, उहाँले भन्नुभएको छ ।

आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्नेलगायतका कानुनी प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले निर्वाचनका विषयमा अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्ने उल्लेख गर्दै आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्न नमिल्ने स्पष्ट पार्नुभयो ।

“मनोनयन पत्र दाखिला गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्न सक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकै छ । हामीले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएका छौँ”, कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभएको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *