रास्वपाबाट गुल्मी–१ मा उम्मेदवार बन्ने सागर ढकालको घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । उनलेआफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिए ।
उनले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् ।
उनले लेखेका छन् – गुल्मी–गुजरात मोडेल : अब नेपालको पालो ।
१६५ निर्वाचन क्षेत्रमा “मतान्तर प्रतिशतमा” पहिलो ??
भारतका सबै खर्बपतिमध्ये ५०% भन्दा बढी र राजनीतिमा आडवानी, मोदी, गान्धी सबै गुजराती नै छन्। साँचो अर्थमा भारतको कायापलट हुनुमा गुजराती मानसिकता, धार्मिकता, नैतिकता र औद्योगिक सोच अत्यन्तै हावी छ।
त्यसैगरी, गुल्मी र वरपरका जिल्लाहरू नेपालकै “Intellectual Powerhouse” भनेर दशकौँदेखि स्थापित छन्। लोक सेवामा गुल्मी कहिल्यै पछि परेको छैन। सामान्य पास मात्र हुनु गुल्मेली हुनुको अर्थ रहँदैन। गुल्मीको पानीमै पनि बौद्धिकता, उत्कृष्टता र इमान्दारिता छ।
अब यो ७७ वटै जिल्लामध्ये रहेको अद्भुत क्षमतालाई हामीले देशको कायापलट गर्नुमा लगाउनु छ। अबका २५ वर्षमा विकासमा नेपालको व्यापक फड्को मार्नु छ। इतिहासमै पहिलो पटक ५ वर्ष एक प्रधानमन्त्री बनाउनु छ। कर्मचारीतन्त्रका समस्या समाधान गरी देशको काँचुली नै फेर्नु छ। डडेलधुराको बिउ “४० मुनिको प्रधानमन्त्री – बालेन” झापामा लगेर पुर्ण रुपमा हुर्काउनु छ। विश्व इतिहास रच्नु छ।
यो चुनावमा म ढुक्क छु, गुल्मीले छुट्टै इतिहास रच्ने छ। १६५ निर्वाचन क्षेत्रमा गुल्मी “मतान्तर प्रतिशतमा” ऐतिहासिक मतान्तरसहित नेपालकै प्रथम हुनेछ भन्ने कामना गरेको छु।
मेरो अनुरोध छ—जसरी गुजरातले पूरै भारतलाई कायापलट गरिरहेको छ, अब हजुरहरूको पालो हो। हजुरहरूले गुल्मीलाई देशभरि १६५ निर्वाचन क्षेत्रमा प्रथम बनाएर गुल्मेली करेन्ट नेपालभरि पठाउँदै गर्दा पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, प्युठानमा पनि सहयोग गर्नुहोला। अब गुल्मीले गुल्मी मात्र होइन, देश नै कायापलट गर्छ।
डडेलधुराका जनता: हजुरहरूलाई बोलेका कुरा कति पूरा गरेँ, त्यसको रिपोर्ट बुझाउन आउँछु। सुदूरपश्चिमका मुद्दा र मधेसका मुद्दा देशव्यापी रूपमा उठाउँछु। बिस्तृतमा डडेलधुरा आएर नै भन्नेछु।
नेपालको इतिहास र गुल्मीको छुट्टै इतिहास रच्न भोलि तम्घास, गुल्मीमा भेटौँ।
