`

५ मतले लुइँटेल पराजित, झिनो अन्तरले हारे ८ उम्मेदवार

Nepal One HD २४ फागुन २०८२ १५:२७
निर्वाचन विषेश

जम्मा ५ मतले यो चुनावमा हारेका उम्मेदवार हुन्– नेपाली कांग्रेसका कुमार लुइँटेल ।

ओखलढुुंगाका उनी अहिलेसम्म अन्तिम परिणाम आइसकेका निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतले पराजित नेता भए ।

अहिलेस्म्म १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १५० क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ । कांग्रेस उम्मेदवार लुइँटेल रास्वपाका उम्मेदवार तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलसँग ५ मतले अन्तरले पराजित भएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत पाए । कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत पाए ।

५ मतको झिनो मतले पोखरेल ओखलढुङ्गावासीको प्रतिनिधित्व गर्दै संसद् आउने भए भने लुइँटेल रोकिए ।

६०० भन्दा कम मतले अहिलेसम्म तीन जनाले पराजय बेहोरे । अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तथा पूूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावले ५२५ मतान्तरले पराजित भए ।

विजयी भएका कांग्रेसका भरतकुमार स्वारले १० हजार ७५९ मत पाउँदा नेकपाका भीम रावलले १० हजार २३३ मत पाए । राष्ट्रिय राजनीतिमा राष्ट्रवादी नेताको छवि बनाएका रावल दोस्रो कम मतान्तरले पराजित उम्मेदवार भए ।

बाजुरामामा कांग्रेसका जनकराज गिरीसँग एमालेका लालबहादुर थापा ५४० मतान्तरले पराजित भए । गिरीले १७ हजार १७३ मत पाउँदा थापाले १६ हजार ६३३ मत पाएका थिए ।

कम मतान्तरले पराजित भएका नेतामा एमालेका नेता गोकर्ण विष्ट पनि हुन् । उनी गुल्मी– २ मा ५६१ मतान्तरले रास्वपा उम्मेदवार गोविन्द पन्थीसँग पराजित भए। पन्थीले १६ हजार ९६७ मत पाउँदा एमालेका विष्टले १६ हजार ४०६ मत पाए ।

दैलेखमा कांग्रेसकी बासना थापासँग एमालेका रवीन्द्रराज शर्मा ५७५ मतले पराजित भए । थापाले १२ हजार ३७२ मत पाउँदा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६मत पाए ।

बागलुङ– २ मा रास्वपाका सोम शर्मासँग कांग्रेसका टेकराज पौडेल ७७८ मतले पराजित भए । शर्माले १६ हजार ६४७ मत पाउँदा कांग्रेसका पौडेलले ११ हजार ८६८ मत पाएका थिए ।

सिन्धुली– १ मा रास्वपाका धनेन्द्र कार्कीसँग एमालेका प्रदीपकुमार कटुवाल क्षेत्री ७८४ मतान्तरले पराजित भए । रास्वपाका कार्कीले १६ हजार ६५९ मत पाउँदा एमालेका क्षेत्रीले १५ हजार ८७५ मत प्राप्त गरे ।

डोटीमा कांग्रेसका भरतबहादुर खड्काले एमालेका दीपकबहादुर धामीले ७८७ मतले पराजित गरे । खड्काले १४ हजार ८९७ मत र एमालेका धामीले १४ हजार ११० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, कोशीको पूर्वी पहाडी जिल्ला तेह्रथुममा एमालेका भानुभक्त ढकाल कांग्रेसका सन्तोष सुुब्बासँग ८७९ मतान्तरले पराजित भए ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका सुुब्बाले ११ हजार ५६१ मत पाउँदा एमालेका ढकालले १० हजार ६८२ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *