सम्पूर्ण चुनावी कार्य चैत पहिलाे साता सकिन्छ – निर्वाचन आयाेग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने भएकाे छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिए ।
उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए ।
प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए ।
त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए ।
प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।
