अन्तरजातीय प्रेमको दु:खान्त : धनुषाकी विभाको रहस्यमय मृत्यु
काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ मा मंगलबार घटेको एक घटनाले फेरि समाजलाई झस्काएको छ।
२५ वर्षीया विभाकुमारी महतो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन्। पहिलो दृष्टिमा यो आत्महत्याजस्तो देखिए पनि घटनाले गम्भीर प्रश्नहरू उठाएको छ, के यो साँच्चिकै आत्महत्या हो, वा कुनै लुकेको सत्य बाहिर आउन बाँकी छ ? त्याे प्रहरी अनुसन्धानपछि खुल्ला ।
तर, घटनाअघिकाे पृष्ठभूमि खाेतल्नैपर्छ । विभा र मुकेश यादवको प्रेम सम्बन्ध पाँच वर्ष अघिदेखिकाे हाे । उनीहरुकाे प्रेमले जातीय सीमा नाघेकाे थियाे । जब उनीहरूले परिवार र समाजको परम्परागत सोचलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरे, समाजले त स्वीकारेन, घरपरिवारलाई पनि स्वीकार्य भएन ।
व्यावहारिक जीवनमा उनीहरूले अनेक दबाब र चुनौतीको सामना गर्नुपर्याे । यहीबीच विभाकाे शव फेला पर्याे । विभाकाे माइती पक्षले घटना हत्यासँग जाेडेका छन् र उनकाे वैवाहिक जीवन सहज नभएकाे दाबी गरेकाे छ । विभाको दाजु मनिषकुमार महतोका अनुसार विवाहको पाँच वर्ष बितिसक्दा पनि सन्तान नभएको विषयलाई लिएर विभामाथि बारम्बार शारीरिक र मानसिक यातना दिइन्थ्यो।
नेपाली समाजमा सन्तान नहुँदा महिलामाथि गम्भीर सामाजिक दबाब थाेपरिन्छ, जसले उनीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। विभाको हकमा पनि यस्तै दबाबले उनको जीवनमा कति असर गर्यो भन्ने प्रश्न उठेको छ।
यी प्रश्नकाे जवाफ पनि प्रहरीले अनुसन्धानकाे क्रममा गर्ला तर घटनाको सबैभन्दा संवेदनशील पक्ष भनेको उनको मृत्युको प्रकृति हो। विभा झुन्डिएको अवस्थामा भेटिए पनि माइती पक्षले उनको शरीरमा नीलडाम देखिएको दाबी गरेको छ। यसले घटना सामान्य आत्महत्या नभई हत्या हुनसक्ने आशंकालाई बल दिएको छ। यही आधारमा उनका दाजुले पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीसमक्ष जाहेरी दिएका छन्।
प्रहरीले जाहेरीका आधारमा मुकेशलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। अहिले घटनालाई आत्महत्या दुरुत्साहनको कोणबाट हेरेर अनुसन्धान अघि बढाइएको छ। तर, वास्तविकता के हो भन्ने निष्कर्ष आउन बाँकी नै छ।
यो घटना केवल विभाकाे मृत्युको कथा मात्र होइन, यो हाम्रो समाजको गहिरो संरचनागत समस्याको प्रतिबिम्ब पनि हो। अन्तरजातीय विवाह गर्ने जोडीहरूले अझै पनि सामाजिक स्वीकृति पाउन संघर्ष गर्नुपर्छ। त्यसमाथि सन्तान नहुनुजस्ता विषयले पारिवारिक तनावलाई अझ जटिल बनाउँछ।
साथै, घरेलु हिंसाका घटनाहरू अझै पनि धेरैजसो अवस्थामा दबाएरै राखिएका हुन्छन् । पीडितले समयमै आवाज उठाउन नसक्दा यस्ता घटनाहरू कहिलेकाहीँ यस्तै दुःखद अन्त्यमा पुग्छन्।
