रास्वपा सभापति रवि लामिछानेसँग अलिकति पनि राष्ट्रप्रेम छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियो)
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अलिकति पनि राष्ट्रप्रेम भएको व्यक्ति नभएको टिप्पणी गरेका छन् ।
रविमा यदि राष्ट्रप्रेम भएको भए उनले अमेरिका जाँदा नेपाली नागरिकता नत्याग्ने तर्क गरे ।
‘जुनबेला मुुलुक संकटमा थियो, नागरिकता त्यागेर विदेशमा जानुभयो । नेपालको नागरिकता त्याग्नुभएको छ,’ उनले रविको आलोचना गर्दै भने, ‘अलिकति पनि राष्ट्रप्रेम भएको व्यक्ति र अलिकति मुुलुकप्रति माया भएको व्यक्तिले आफ्नो नागरिकता त्याग्दैन ।’
अमेरिकी अदालतमा आफूविरुद्ध मुद्दा परेपछि नेपाल आएको र नेपाली नागरिकता पुनः प्रयोग गरी उपप्रधान तथा गृहमन्त्री हुँदा अदालतले उनको पद खारेज गरिदिएको उनले स्मरण गरे ।
ओली सरकारले रविलाई फसाएको भन्ने उनको आरोपलाई वरिष्ठ अधिवक्ता त्रिपाठीले खारेज गरिदिए । उनले भने, ‘अमेरिकी अदालतमा उहाँविरुद्ध मुद्दा छ, के त्यहाँ पनि उहाँलाई फसाएको हो ?’
रविले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा आफूलाई ओली सरकारलाई प्रतिशोध साँधेर फसाएको आरोप लगाउने गरेका छन् ।
