इनिशा विककाे बलात्कारपछि हत्या प्रकरण- मुख्य अभियुक्तलाई जन्मकैदको सजाय माग
काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग गरेको छ।
जिल्ला प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार घटनास्थलबाटै पक्राउ परेका मुख्य अभियुक्तसहित अध्यनरत एक जना किशोरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाइएको छ।
फागुन २३ गते बिहान ट्युसन जान निस्केकी इनिशा विक वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वन पार्कमा मृत अवस्थामा फेला परेकी थिइन्।
पोष्टमोर्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको पुष्टि गरेको छ। प्रहरी अनुसन्धानले मुख्य अभियुक्तले बलात्कार र हत्या दुबै कार्यमा प्रत्यक्ष संलग्न रहेको देखाएको छ। यस घटनालाई आधार मान्दै प्रहरीले कानुनी रूपमा मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग गरेको हो।
अनुसन्धान प्रतिवेदनअनुसार अन्य तीन किशोर घटनामा प्रत्यक्ष संलग्न नभए पनि बलात्कारपछि बेहोस भएकी इनिशालाई समयमै अस्पताल पुर्याउन नसकेको र सहयोग नगरेको कारण उनीहरूविरुद्ध पनि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको छ। चारै जना आरोपी १८ वर्षभन्दा कम उमेरका भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।
एसपी शाहीका अनुसार प्रहरीले डिएनए, मोबाइल ट्याप, फरेन्सिक र टक्सिकोलोजीसम्बन्धी रिपोर्टहरू प्राप्त नगरेको अवस्थामा पनि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको हो।
केही परीक्षण नेपालमा गर्न सम्भव नभएर नमूना विदेश पठाइएको छ। यी रिपोर्ट प्राप्त भएपछिको अध्ययनले इनिशाको मृत्युको कारण थप स्पष्ट हुने बताइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादर महतले प्रहरी प्रतिवेदन अध्ययनको प्रक्रिया जारी रहेको जानकारी दिए । प्रतिवेदनको समीक्षापछि अदालतमा पेश गरी अभियुक्तविरुद्धको मुद्दा औपचारिक रूपमा तय गरिनेछ।
