नेप्से लाग्यो दुई दिनदेखि ओरालो,बालेन सरकार आएपछि आत्तिए पुँजीबजारका कारोबारी
काठमाडौं। बहुमतकासाथ बालेन्द्र शाह‘बालेन’ नेतृत्वमा सरकार बनेपछि पुँजीबजारका कारोबारी आत्तिएका छन्। बालेन नेतृत्वको सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि पुँजीबजारका कारोबारी आत्तिएका हुन्।
बालेनको नेतृत्वमा सरकार बनेपछि नेप्से दुई दिनदेखि निरन्तर ओरालो लागेको देखिएको हो। सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकबाट नै सरकारले शासकीय सुधारको क्षेत्रमा आगामी दिनमा गर्ने एक सय कार्यसूची अघि सारेको छ । जसमा सम्पत्तिको डिजिटल तथ्यांक सुरुवात गर्नेदेखि निजी क्षेत्रलाई स्वस्थ प्रवर्द्धन गर्नेसम्मका विषय समावेश रहेका छन् ।
सरकारको सुशासनमुखी कदम देखेर विशेषगरी अनुत्पादक क्षेत्रको रूपमा चिनिँदै आएको दोस्रो पुँजीबजार तर्सिएको देखिएको छ ।
आइतबार ७१ दशमलव ०५ अंकले घटेको नेप्से सोमबार पनि ४७ दशमलव ७१ अंकले घटेर दुई हजार आठ सय ३१ दशमलव ३९ विन्दुमा पुगेको छ । आज नेप्सेमा गिरावट आउँदा दुई सय ३७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने २६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने घटबढ भएको छैन ।
सोमबार कारोबार भएका मध्ये रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने सोलु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज सेयर बजारमा गिरावट आउँदा सबै समूहको उपसूचक पनि नकारात्मक बन्न पुगेको छ ।
