`

हप्तामा दुई दिन बिदा हुँदा आन्तरिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा

Nepal One HD २६ चैत २०८२ १४:२२
अर्थ समाचार

चितवन। साताको दुई दिन बिदा हुँदा आन्तरिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार बिदा दिने व्यवस्था गरेसँगै पर्यटकीय क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने व्यवसायीहरूको भनाइ छ। यसअघि छोटो समयका लागि लागू गरिएको दुई दिन बिदाले पनि केही सुधार देखाएको थियो।

व्यवसायीहरूका अनुसार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटकहरू कम्तीमा एक रात र दुई दिनको छोटो यात्रा योजना बनाएर घुम्न निस्कन सहज हुन्छ। क्षेत्रीय होटल सङ्घ चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराईले बिदालाई दीर्घकालीन रूपमा निरन्तरता दिन सके पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गरे।

उनका अनुसार इन्धन खपत घटाउने उद्देश्य भएकाले तत्काल ठूलो प्रभाव नदेखिए पनि निरन्तरता दिइएमा सकारात्मक परिणाम देखिनेछ। सङ्घका उपाध्यक्ष गुणराज थपलियाले पनि विश्वका धेरै देशमा सातामा दुई दिन बिदा हुने अभ्यास रहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन माग गरेका छन्।

होटल व्यवसायीहरू पनि यस व्यवस्थाले आन्तरिक पर्यटक बढ्नेमा आशावादी छन्। होटल भिस्टा चितवनका सञ्चालक समेश सिलवालले सातामा दुई दिन बिदा भए आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गरे।

चितवनका सौराहा, पटिहानी, मेघौली र भरतपुरजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। दुई दिन बिदा हुँदा देशका विभिन्न जिल्लाबाट आउने पर्यटकलाई यात्रा गर्न थप सहज हुने व्यवसायीहरूको धारणा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *